'वारिपारिको सुमधुर पर्यटकीय सम्बन्ध' विस्तारका लागि सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन र कसरा पर्यटन व्यवसायी समितिबीच बिहीबार भगिनी सम्बन्ध कायम भएको छ ।
What you should know
चितवन — पर्यटन विस्तारमा टेवा दिने उद्देश्यले चितवनको कसरा क्षेत्रका पर्यटन व्यवसायी र भारत सिक्किमका पर्यटन व्यवसायीबीच सहकार्य हुने भएको छ । 'वारिपारिको सुमधुर पर्यटकीय सम्बन्ध' विस्तारका लागि सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन र कसरा पर्यटन व्यवसायी समितिबीच बिहीबार भगिनी सम्बन्ध कायम भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरा आडको पटिहानी, कसरा र जगतपुर क्षेत्रका पर्यटकीय होटल कसरा यर्यटन व्यवसायी समितिमा आबद्ध छन् । त्यसैगरी सिक्किम टुरिजम अर्गनाइजेसनमा सिक्किमका सबै ६ जिल्लाका पर्यटन व्यवसायी सामेल भएको अध्यक्ष गणेश शिवाकोटीले बताए ।
'नेपाल र सिक्किमबीच जुन सुमधुर सम्बन्ध छ त्यो नै पर्यटन विस्तारको राम्रो आधार बन्न सक्छ । यसमा चितवन जोडिनु भनेको सुखद पक्ष हो,' अध्यक्ष शिवाकोटीले भने । उनले सात लाख जनसंख्या भएको सिक्किममा १४ लाख पर्यटक आउने बताए । सिक्किमले नेपाल र चितवनबाट सिक्न चाहेको र पर्यटनको आफ्नो अनुभव साझा गर्ने पनि बताए । चितपनमा निकुञ्ज भए जस्तै सिक्किममा पनि कञ्जनजङ्घा नेसनल पार्क भएको हुँदा सहकार्य गरेर अगाडि बढ्दा दुवैतिर लाभ पुग्ने बताए ।
कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डेले पर्यटन सञ्जाल बलियो बनाउन यस्तो सहकार्यले मद्दत पुर्याउने धारणा राखे ।चितवन क्षेत्रको वन्यजन्तुमा आधारित पर्यटनमा समुदायको साँस्कृतिक पक्ष पनि थपिएको हुँदा स्वदेशी विदेशी पर्यटक यसबाट मोहित हुने गरेको बताए । 'भविष्यमा हामीले मिलेर धेरै काम गर्न सक्छौं । मार्केटिङको क्षेत्रमा काम गर्न सकिन्छ । फेस्टिभल गर्न सक्छौं,' उपाध्यक्ष पाण्डेले भने । सिक्किमका अध्यक्ष शिवाकोटी र कसराका उपाध्यक्ष पाण्डेले भगिनी सम्बन्धका लागि ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । जसमा सहकार्य गर्न सक्ने विभिन्न क्षेत्रहरू उल्लेख छन् ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका-२२ का वडाध्यक्ष विष्णुराज महतोले भौगोलिक, भाषिक र साँस्कृतिक पक्षमा धेरै समानता रहेको नेपाल र सिक्किम पर्यटन विकासको सहकार्यमा लाग्दा फलदायी परिणाम आउने बताए । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले सहकार्यलाई परिणाममुखी बनाउने सन्दर्भमा प्रदेश सरकारको सहयोग रहने बताए ।
