रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन् ।
What you should know
काठमाडौँ — रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको परमादेशलाई कार्यान्वयन गर्दै मंगलबार आईपीओ निष्कासनका लागि बाटोखोलिदिएको हो ।
‘उच्च अदालत पाटनबाट १२ असार २०८१ मा भएको स्वीकृतिबमोजिम निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनू भनी परमादेशको आदेश जारी भएअनुसार उक्त कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अगाडि बढाउनुहुन जानकारी गराइन्छ,’ बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ ।
रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन् ।
रिलायन्स स्पिनिङ मिल्स औद्योगिक घराना गोल्यान ग्रुपको कम्पनी हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।
वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । रिलायन्सको नेतृत्व हाल अक्षय गोल्यानले गरिरहेका छन् ।
