वीरगन्ज नाकाबाट भारततर्फ भटमास, सूर्यमुखी र पाम तेलको उत्साहजनक निर्यात

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १७ अर्ब ३२ करोड रुपैयाँबराबरको ८ करोड ४० लाख लिटर भटमासको तेल भारततर्फ निकासी भएको छ ।

मंसिर १८, २०८२

शंकर आचार्य

Encouraging exports of soybean, sunflower, and palm oil to India from Birgunj border

What you should know

पर्सा — वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भटमासको तेल, सूर्यमुखीको तेल र प्रशोधित पामको तेलको निकासी ह्वात्तै बढेको छ । गत आवको सोही अवधिको तुलनामा यी तेलको निकासी उत्साहजनक रूपमा वृद्धि भएको हो ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १७ अर्ब ३२ करोड रुपैयाँबराबरको ८ करोड ४० लाख लिटर भटमासको तेल भारततर्फ निकासी भएको छ । गत आवको यसै अवधिमा यो नाकाबाट २ अर्ब २ करोड रुपैयाँबराबरको ८७ लाख ६४ हजार लिटर भटमासको तेल निकासी भएको थियो ।

त्यसैगरी, चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै २ अर्ब ९ करोड रुपैयाँबराबरको ३ करोड २४ लाख लिटर सूर्यमुखीको तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा यो नाका हुँदै १ अर्ब ११ करोड रुपैयाँबराबरको ६४ लाख ८९ हजार लिटर सूर्यमुखीको तेल निकासी भएको थियो ।

चालु आवको प्रथम चौमासिक अवधिमा यो नाका हुँदै १ अर्ब ५४ करोड रुपैयाँबराबरको ८५ लाख १४ हजार लिटर प्रशोधित पाम तेल भारततर्फ निकासी भएको छ । गत आवको सोही अवधिमा ४ करोड रुपैयाँबराबरको २ लाख २३ हजार लिटर प्रशोधित पाम तेल भारततर्फ निकासी भएको थियो ।

नेपाली तेल उद्योगहरूले भटमास,सूर्यमुखी र पाम ब्राजिल, अर्जेन्टिना, युक्रेन आदि मुलुकबाट आयात गरेर तेल उत्पादन गरी भारत निकासी गर्ने गरेका छन् । वीरगन्ज भन्सार कार्यालयका अधिकृत अमित तिवारी यस वर्ष उत्साहजनक रूपमा तीन वटै तेलको निकासी वीरगन्ज नाकाबाट भइरहेको बताउछन् । भटमासको तेलको निकासी झन बढ्दो क्रममा रहेको उनले बताए । भारतीयको तुलनामा नेपाली भटमास, सूर्यमुखी र पामको प्रशोधित तेल सस्तिएपछि वीरगन्ज नाकाबाट यी तेलको भारततर्फको निकासी बढेको हो ।  

यस वर्ष भारततर्फ यी तेलको निकासी उत्साहजनक रूपमा वृद्धि हुनुमा भारतीय तेलसँग नेपाली तेल प्रतिस्पर्धामा खरो उत्रिनु नै मुख्य कारण रहेको उनले बताए । प्रतिलिटरमा ५ रुपैयाँ मात्र पनि नाफा कमाएर नेपाली तेल उद्योगहरूले भारततर्फ धमाधम तेल निकासी गरिरहेको उनले बताए ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully