भारतीय बन्दरगाहबाट कन्टेनरलाई नेपाल आइपुग्न २५ दिनसम्म किन लाग्छ ?

दुई महिनायता विशाखापटनम्, हल्दिया र कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउने रेल ढिलो गरी आउने र भारतमै भारतीय रेल्वे नेपालका लागि र्‍याक नै कम दिने समस्या रहेको व्यवसायीको गुनासो छ।

मंसिर १७, २०८२

शंकर आचार्य

Why does it take 25 days for a container to arrive in Nepal from an Indian port?

What you should know

पर्सा — उद्योगी व्यवसायीले भारतीय रेल्वेले नेपालतर्फ दिने रेल्वे र्‍याकमा कमी तथा रेलमार्गमा हुने ढिलाइका कारण नेपालको आयात–निर्यात व्यापार नै प्रभावित भइरहेको गुनासो गरेका छन् ।

दुई महिनायता विशाखापटनम्, हल्दिया र कोलकाता बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आउने रेल ढिलो गरी आउने र भारतमै भारतीय रेल्वे नेपालका लागि र्‍याक नै कम दिने समस्या हाल चरम बिन्दुमा पुगेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल बताउँछन् ।

‘दुई महिना देखि निरन्तर यो समस्या बढ्दो क्रममा छ, हाल उच्च बिन्दुमा पुगेको छ,’ उनले भने, ‘वीरगन्ज उद्योग वाणिज्य संघले आइतबार भारतीय रेल्वेका जीएम, कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत समेतलाई पत्राचार गरी यो समस्या अविलम्ब समाधान गरी दिन आग्रह गरेको छ ।’

सामान्यतया कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनरबाहक रेल्वे र्‍याक आउन अधिकतम तीन दिन र विशाखापटन बन्दरगाहबाट आउन अधिकतम ५ दिन लाग्ने गरेकोमा हाल यी बन्दरगाहबाट वीरगन्जका लागि छुटेका रेल वीरगन्जसम्म आउन पाँच देखि २५ दिनसम्म लाग्न थालेको उनले बताए ।

यसरी रेलको तालिका नै बिग्रिएपछि नेपाली आयातकर्ताले आयात गरेको मालवस्तु तथा औद्योगिक कच्चा पदार्थको उपादेयता नै समाप्त हुन थालेको उनले गुनासो गरे । ‘दशैँ–तिहार जस्ता चाड–पर्वलाई लक्षित गरी तेस्रो मुलुकबाट आयातित मालवस्तु चाड–पर्व सकिएपछि आउन थालेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा उद्योगी व्यवसायीको ती मालवस्तु तथा कच्चा पदार्थ उपयोगविहीन हुन जान्छ, उत्पादित वस्तुले पनि चाड–पर्वको समयको जस्तो बजार पाउँदैन ।’

विगतमा भारतको कोलकातामा दुर्गा पूजा, बिहारमा चुनाव, मोन्था आँधीको असर आदि कारण देखाएर नेपालतर्फ रेल्वे र्‍याक दिन ढिलाइ तथा रेलमार्गमा समेत ढिला हुने गरेकोमा हाल भने भारतीय रेल्वेले विभिन्न स्थानमा रेलको लिक मर्मत–सम्भार गरिरहेकाले नेपालतर्फ आउने रेल्वे र्‍याकको आगमन नराम्रैसँग प्रभावित हुन पुगेको छ ।

सिर्सिया सुक्खा बन्दरगाह सञ्चालन कम्पनी प्रिष्टिनका सिइओ राजीव मोहन झा भारतको रेल्वे सेवामा हुने समस्या बारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘हामीले वीरगन्जमा रेलमार्फत आउने कन्टेनर र बल्क कार्गो वस्तुको ह्यान्डलिङ सम्म मात्र गर्ने हो,’ उनले भने, ‘भारतमा हुने समस्या बारे हामी पनि अनभिज्ञ नै हुन्छौँ ।’

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully