सेयर बजारमा ओरालो यात्रा रोकिएन, लगातार चौथो दिन पनि घट्यो नेप्से

आज कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्यो, १७७ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

The downward journey in the stock market did not stop, Nepse fell for the fourth consecutive day

काठमाडौँ — सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रह्यो । अघिल्लो दिनको तुलनामा १३.५२ अंकले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३१.१७ विन्दुमा ओर्लेर बन्द भएको छ ।

मंगलबारको तुलनामा यो ०.५१ प्रतिशतको गिरावट हो । गत आइतबार देखि लगातार नेप्से घटिरहेको छ । मंगलबार सामान्य (०.५३) अंकले मात्र ऋणात्मक रहेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको हो । 

आज कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्यो, १७७ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से दोहोरो अंकले घटेको हो । 

बुधबार कुल ६७ हजार ४ सय ८५ पटकको सेयर कारोबारमा १ करोड ८ लाख ७३ हजार ३ सय ७२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । मंगलबार सेयर बजारमा ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । 

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषको परिसूचक बढे । बा“की सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

कान्तिपुर

Link copied successfully