मुलुकमा जेन–जी आन्दोलनपछि रोकिएको कर्मचारीको क्षमता वृद्धि तालिम तत्काल सुरु गरिनुपर्नेमा जोड दिएका छन् । साथैं उड्डयन क्षेत्रमा आबद्ध कर्मचारीले पालन गर्नुपर्ने मापदण्ड कार्यान्वयन हुनुपर्ने पनि सुझाव छ ।
What you should know
भैरहवा — मुलुकको उड्डयन क्षेत्रमा देखिएका समस्या समाधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का)ले आन्दोलनको तयारी गरेको छ । उड्डयन क्षेत्रका बेथिति सुधारको जिम्मेवारी आफ्नो भएको औंल्याउँदै संघले दबाबका कार्यक्रम गरिने जनाएको हो ।
संघ केन्द्रीय अध्यक्ष मुरारीप्रसाद पौडेलले बुधबार कान्तिपुरसित कुराकानी गर्दै देशभरका उड्डयन सम्बन्धित कर्मचारीबाट राय र सुझाव संकलनपछि दबाबका कार्यक्रम गर्न लागेको जानकारी दिए । ‘उड्डयन क्षेत्रको सुधारका लागि हामीले जानेका, सिकेका कुरा बताउँछौं,’ उनले भने, ‘हामीले दिने दबाब र सुझावबाट नागरिक उड्डयन प्राधिकरण व्यवस्थापनलाई सुधारका काम गर्न सहज हुनेछ ।’
दबाबका कार्यक्रम थाल्नुपूर्व देशव्यापी रूपमा कर्मचारीको सुझाव संकलन गरिएको उनले बताए । उनका अनुसार संघको चौधौं कार्यसमिति चयन भएपछि तिहारलगत्तै काठमाडौंस्थित त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरण लगायत सरोकारवाला कार्यालयमा छलफल आयोजना गरेर सुधारका लागि राय संकलन गरिएको थियो । गत कार्तिक १७ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय भैरहवा, कार्तिक १९ गते नेपालगन्ज, २३ गते पोखरा र २८ गते विराटनगर विमानस्थल पुगेर कर्मचारीको राय र सुझाव संकलन गरिएको पौडेलले बताए ।
राय/सुझाव संकलन कार्यक्रममा उड्डयन क्षेत्रमा काम गरेका अवकाशप्राप्त कर्मचारीलाई पनि समेटिएको थियो । ‘देशव्यापी दौडाहा गरेर सुधारका लागि आवश्यक सुझाव संकलन गरेका छौं,’ उनले भने, ‘यसमा संघमा आबद्धमात्र नभएर अन्य सेवा समूह, कर्मचारी युनियन र सरोकारवालालाई सहभागी गराएका थियौं ।’ यसक्रममा सहभागीले उडानमा हुने ढिलाइलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
अहिले भइरहेको ढिलाइलाई तत्काल सुधार गर्न सुझाव प्राप्त भएको उनले बताए । हवाई सुरक्षालाई लिएर धेरै कर्मचारी र सरोकारवालाले प्रश्न उठाएका छन् । ‘हाम्रा कमी–कमजोरी तत्काल सम्बोधन गरेर निर्धक्क आकाशमा उड्ने वातावरण बन्नुपर्ने धेरैको सुझाव छ,’ उनले भने, ‘यात्रु सुरक्षित रूपमा गन्तव्यमा पुग्ने कुराले उड्डयन क्षेत्रमाथि विश्वास पैदा गर्छ ।’
मुलुकमा जेन–जी आन्दोलनपछि रोकिएको कर्मचारीको क्षमता वृद्धि तालिम तत्काल सुरु गरिनुपर्नेमा जोड दिएका छन् । साथैं उड्डयन क्षेत्रमा आबद्ध कर्मचारीले पालन गर्नुपर्ने मापदण्ड कार्यान्वयन हुनुपर्ने सुझाव छ । ‘कर्मचारीका लागि अनिवार्य तालिम पनि बन्द गरियो,’ उनले भने, ‘तालिम रोकेपछि विदेशी निकायले हवाई सेवामाथि प्रश्न गरिराख्छन् ।’
संघले पूर्वाधारका नाममा आवश्यक क्षेत्रभन्दा बाहिर गएर भइरहेको लगानीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अनावश्यक लगानीले गर्दा हवाई क्षेत्र नै पश्चगमनको बाटोमा अग्रसर भएको संघले जनाएको छ । ‘चितवनको भरतपुरमा विमानस्थलवरिपरि च्याउझैं ठूला भवन निर्माण भइसके,’ पौडेलले भने, ‘भैरहवामा विमानस्थल धेरै दक्षिण निर्माण गर्दा दक्षिणतर्फबाट जहाज घुमाउन नमिल्ने अवस्था छ ।’
झापाको चन्द्रगढीमा जहाज उड्ने बित्तिकै मेची नदी पार हुने समस्या रहेको उनले बताए । ‘यस्ता विकृतिबारे नीति निर्माता, सांसद, प्रधानमन्त्री कोही बोल्दैनन्,’ उनले भने, ‘जसले जे प्रस्ताव ल्यायो, त्यही ठिक भन्ने गरेकाले धेरै समस्या भइसक्यो ।’
सहन नसक्ने अवस्था सिर्जना भएपछि संघले आन्दोलनको तयारी गरेको उनले बताए । नेपालको उड्डयन क्षेत्रमा रहेका विकृतिका कारण विदेशीले बारम्बार प्रश्न उठाउने अवस्था आएको उनको भनाइ छ । एक साता काठमाडौंबाट दबाबमूलक आन्दोलन थाल्ने उनले जनाए । ‘अर्को साताभरि काठमाडौंमा सरोकारवालासित सुधारका लागि प्राप्त सुझावबारे छलफल गर्छौं,’ उनले भने, ‘अर्को शुक्रबार सुझाव समेटेर स्वेतपत्र जारी गर्नेछौं ।’ आन्दोलनले अवरोध सिर्जना गर्ने नभई व्यवस्थापन र सरकारलाई सहयोग गर्ने उनको भनाइ थियो ।
