विस्तार थालिएको १ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म ८२.४६६ किमि चार लेन र १९.३४ किमि दुई लेन कालोपत्र गरिएको छ।
What you should know
काठमाडौँ — नारायणगढ–बुटवल सडक विस्तार थालेको सात वर्ष पुग्नै लाग्दा काम भने अझै सकिएको छैन । समयमै सडक नबन्दा यात्रुले हिउँद होस् या बर्खा, सधैं हिलो र धूलोको सामना गर्नुपरेको छ । अहिले यस्तो समस्या दाउन्ने खण्डमा बढी छ । धेरै ठाउँमा कालोपत्र सकिए पनि दाउन्ने खण्डमा ट्राफिक जामदेखि हिलो–धूलोको समस्या कायमै छ ।
विस्तार थालिएको १ सय १३ किलोमिटर सडकमध्ये ८२.४६६ किमि चार लेन र १९.३४ किमि दुई लेन कालोपत्र गरिएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने ६४ पुलमध्ये ५८ र ४ सय ६८ कल्भर्टमध्ये ४ सय ५६ वटा निर्माण भइसकेका छन् ।
सुरुका दिनमा समस्या भए पनि अहिले धेरै काम भइसकेका कारण आउने बर्खामा सडकमा कुनै समस्या नहुने आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालको दाबी छ । ‘सुरुमा यस सडकमा धेरै समस्या भयो, यात्रु, चालकले निकै सास्ती भोग्नुपर्यो,’ उनले भने, ‘अहिले दाउन्नेमा मात्र समस्या छ ।’
दाउन्नेबाहेक अरुणखोला र चोरमारा पुलको काम बाँकी छ । उक्त पुलको पनि काम सकिने चरणमा पुगेको ढकालले सुनाए । ‘दाउन्नेमा १४ मध्ये ३ किमि कालोपत्र भइसकेको छ, दुवैतर्फबाट गरेर ३ किमि ढलान गरिसकिएको छ,’ उनले भने, ‘बाँकी ८ मा चार किमि ढलान गर्न भनिएको छ ।’ बाँकी चार किमि सडकमा निर्माण व्यवसायीले ढलान गर्न भने पनि आयोजनाले कालोपत्र नै गर्न भनेको छ ।
‘दाउन्नेमा सुरुमा ठाउँ–ठाउँमा ढलान नै गरिएको थियो,’ ढकालले भने, ‘त्यो बेला कालोपत्र गरेर टिकाउ नभएपछि ढलान गरिएको थियो ।’ डिजाइनका बेला सबै सडक कालोपत्र गर्ने भनिए पनि दाउन्ने खण्डमा कालोपत्र गर्दा पछि समस्या आउने खतरा हुँदा अन्तर्राष्ट्रिय परामर्शदाताले ढलान गर्न सुझाएको उनको भनाइ छ ।
‘दाउन्नेमा मोड धेरै छ, भौगोलिक दृष्टिले जटिल र ठाउँ–ठाउँबाट पानी निस्कने समस्या पनि छ,’ उनले भने, ‘त्यसैले सबैभन्दा राम्रो विकल्प ढलान नै हो भन्ने भयो । त्यहीअनुसार केही खण्डमा मात्र ढलान गरिएको हो ।’ महँगो पर्ने र त्यसअनुसार बजेट नहुँदा सबै खण्डमा ढलान गर्न नदिइएको ढकालले बताए । अहिलेसम्म ठेक्का लिने व्यवसायीकै कारण निर्माणमा ढिलाइ भएको आयोजनाको भनाइ छ ।
निर्माण व्यवसायीले समयमै काम नसकेपछि आयोजना कार्यालयले उल्टै ठेक्का तोड्ने चेतावनी दिँदै पछि हट्दै आएको छ । ठेक्का लिने कम्पनीले काममा प्रगति नबढाउँदा २०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । दोस्रो पटक आयोजनाले परामर्शदातामार्फत एनटीसी (नोटिस टु करेक्ट) नोटिस जारी गर्दै तोकिएको समयभित्र काम नसके ठेक्का तोड्ने चेतावनी दिएको थियो ।
एनटीसीमा २०२४ डिसेम्बरसम्म एक साइडको काम ७० प्रतिशत सकिसक्नुपर्ने र २०२५ को मार्चसम्म कम्तीमा एक साइडको पूरै काम सकेर यातायातका साधन चल्ने बनाउनुपर्ने उल्लेख छ । यसअनुसार फागुन–चैत २०८१ भित्र उक्त प्रगति पुग्न पर्थ्यो । अहिलेसम्म निर्माण प्रगति ७४ प्रतिशत मात्र छ । ‘तोडेर नयाँ ठेक्का गर्न पनि समय लाग्छ, फेरि लागत बढ्छ,’ ढकालले भने, ‘निर्माण व्यवसायीलाई जसरी भए पनि काम सक्न दबाब दिँदै आएका छौं, त्यहीअनुसार अहिले काम भइरहेको छ, अब यसको काम सकिन्छ ।’
नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले काममा ढिलाइ गरेपछि सुरुका दिनमा आयोजना कार्यालयले छिटो काम सक्नुपर्ने माग गर्दै उसको केन्द्रीय कार्यालयमा पुगेर दबाब दिएको थियो । अहिले त्यहीअनुसार निर्माण व्यवसायीले काम अघि बढाएको सडक विभागले जनाएको छ ।
सडक बनाइसकेपछि पाँच वर्षसम्म मर्मतसम्भारको काम निर्माण व्यवसायीले नै गर्नेछ । ‘यस्तो नियम राखेपछि निर्माण व्यवसायीले गुणस्तरीय काम गर्छन्,’ ढकालले भने । २२ साउन २०७९ भित्र काम सक्ने गरी ८ चैत २०७५ मा ठेक्का सम्झौता भएको थियो । यसलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ८ साउन २०८१ सम्मका लागि म्याद थपिएको थियो ।
यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ८ साउन २०८२ सम्मका लागि म्याद थपिएको छ । यस अवधिमा पनि काम नसकिएपछि चौथो पटक २४ असार २०८३ सम्म म्याद थपिएको छ । यो समयभित्र काम सकिसक्ने आयोजना कार्यालयको दाबी छ । यसको एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
