नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिने

मंसिर १७, २०८२

कान्तिपुर संवाददाता

Loan agreement signed between the governments of Nepal and Japan

What you should know

काठमाडौँ — नेपाल सरकार र जापान सरकारबीच कोटेश्वरमा अन्डर पास र फ्लाइओभर निर्माणकालागि ऋण सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर खनालको उपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता गरिएको हो । 

जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थ मन्त्रालयले जनाएको छ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।

एक्सचेन्ज अफ नोट्समा अर्थ सचिव घनश्याम उपाध्याय र  जापानी राजदूत मायदा  तोरुले हस्ताक्षर गरेका हुन । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि  श्री मित्सुजाकी माजुकीले हस्ताक्षर गरेको अर्थले जनाएको छ । 

हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी,  राजदूत मायदा तोरु तथा अर्थ मन्त्री रामेश्वर प्रसाद खनालले सम्बोधन गर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानी राजदूत मायदा तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । 

अर्थ न्त्री खनालले नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण ट्राफिक जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully