महको आयात खुलेपछि मौरीपालक चिन्तामा

खपतभन्दा उत्पादन न्यून भए पनि नेपाली मह बिक्री हुन गाह्रो हुँदै गएको छ । भारतीय मह सस्तो हुने भएकाले आयात बढेको किसानहरू बताउँछन् ।

मंसिर १६, २०८२

रमेशकुमार पौडेल

Beekeepers worried after honey import allowed

What you should know

चितवन — मौरी किसानहरू यो बेला मौरी चराउन घार बोकेर वन र बारीमा व्यस्त छन् । वन क्षेत्रमा चिउरी फुल्दै छ । त्यसैगरी खेतबारीमा तोरी फुलेर पहेलै हुँदैछ । चिउरी र तोरीको फूलको रस मौरीका लागि मह उत्पादन गर्न उत्तम हुन्छ । त्यसैले किसानहरू मौरीको गोला बोकेर टाढा–टाढा जान्छन् । तर यही बेला सरकारले मह आयात खुला गरेपछि उनीहरू चिन्तित देखिए ।

चितवन खोलेसिमलका शिव शर्मा पौडेल अहिले दाङमा छन् । २३ वर्षअघि एक घारबाट मौरीपालन सुरु गरेका उनले हाल दुई सय घार मौरी पुर्‍याएका छन् । ‘यो बेला दाङ घोराहीको वन क्षेत्रमा चिउरी फुल्ने समय हो । चिउरीको रसबाट मौरीले राम्रो मह बनाउँछ । त्यसैले मैले १३० घार मौरी दाङ लिएर आएको छु,’ शर्माले भने । यही बेला तोरी पनि फुल्ने भएकाले तोरीबारीतिर पनि मौरीका घार छन् ।

‘हामी दुख–कष्ट बेहोर्दै हिँडेका छौं । सरकारले असोज २७ गते मह आयात खुला गर्ने निर्णय गरेको सुनेपछि थप चिन्तित भयौं,’ शर्माले भने । नेपालमा गत वर्ष ४ हजार १ सय ९२ टन मह उत्पादन भएको नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जानकारी दिए । त्यसअघिका दुई वर्ष मह नबिकेर नेपाली किसान ठूलो मर्कामा थिए । घर-घरमा मह थुप्रिएको थियो ।

Beekeepers worried after honey import allowed‘किसानहरूले खाटको तल महका भाडा राखेर बसे । नेपाली मह बिक्री हुन गाह्रो भएपछि तत्कालीन कृषिमन्त्री ज्वाला साहले मह आयात रोक्नुभयो । गत वर्ष कृषिमन्त्री रामनाथ अधिकारीले नेपालका बहुराष्ट्रिय मह उद्योगहरूले कम्तीमा पनि आधा मह नेपाली किसानको उत्पादन खरिद गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्नुभयो,’ पौडेलले भने । यसले गर्दा नेपाली मह बिस्तारै बिक्री हुँदै गएको थियो भन्छन् पौडेल ।

तर यो प्रावधान कायम नरहने गरी असोज २७ गते मह आयात खुला गरिएको उनले बताए । नेपालमा वर्षमा ९ हजार २ सय टन मह खपत हुने गरेको उनले बताए । खपतको आधा पनि मह नेपाली किसानले उत्पादन गर्न सकेका छैनन् । खपतभन्दा उत्पादन न्यून भए पनि नेपाली मह बिक्री हुन गाह्रो हुँदै गएको छ । भारतीय मह सस्तो हुने भएकाले आयात बढेको किसानहरूले बताउँछन् ।

‘चिउरी र तोरीको महको मूल्य फरक छ । तोरीको फूलमा चरेको महको दर किलोको होलसेलमा २ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म छ । जंगली स्रोत अर्थात् चिउरीको फूलको रसमा चरेको मौरीको महको मूल्य एक किलोको ४ सयदेखि ६ सय रुपैयाँसम्म पर्छ,’ मकवानपुर मनहरीका मौरीपालक किसान शालिकराम बानियाँले भने । उनी मौरीपालक महासंघका महासचिवसमेत हुन् ।

भारतीय महको मूल्य योभन्दा आधा रहेको उनले बताए । ‘नेपालमा लागत मूल्य नै बढी छ । आयात गर्ने महको गुणस्तरमा कडाइ छैन । त्यसैले मूल्यमा हामीलाई मर्का परेको छ । बाहिरको मह सस्तो पर्ने हुँदा आयात गर्ने तर हाम्रो उत्पादन नकिन्ने समस्या छ,’ बानियाँले भने । निवर्तमान अध्यक्ष पौडेल नेपाली किसानले उत्पादन गर्ने महको लागत तय गरेर भन्सार तोक्नुपर्ने बताउँछन् ।

‘चकलेट बनाउन भनेर विदेशबाट ल्याएको कर्न सिरप, सुगर सिरप पनि महका रूपमा प्रयोग हुने गरेको छ । चकलेटलगायतका अन्य पदार्थलाई त्यस्तो सिरप कति चाहिने हो, त्यसको परिमाण यकिन गरेर आवश्यक मात्रामा मात्रै सिरप ल्याउन दिइयोस्,’ पौडेलले भने । नेपाली महको बजार विस्तारका लागि मह व्यवसायीहरूलाई प्रोत्साहित गर्न अनुदानलगायतका कार्यक्रम ल्याउन उनले माग गरे ।

Beekeepers worried after honey import allowed‘बहुराष्ट्रिय कम्पनीहरुले नेपाली मह मापदण्डअनुरूप भएन भन्दै आएका पनि छन् । नेपाली महको मापदण्ड के हो ? यहाँका पुष्परसहरूको मापदण्ड कस्तो हो ? त्यो मापदण्ड तोकेर त्यो भन्दा बाहिरको मह नेपालमा प्रयोग गर्न नदिइयोस् भन्ने माग पनि हाम्रो छ,’ पौडेलले भने ।

नेपालमा १५ हजार हाराहारीमा मौरीपालक किसानहरू रहेको पौडेलले जानकारी दिए । ‘व्यावसायिक रूपमा मौरी पाल्ने किसान, जो मौरी गोलाहरू एक ठाउँदेखि अर्को ठाउँसम्म लिएर चरिचरणमा जान्छन्, त्यस्ता किसानहरूको संख्या नै २ हजार १ सय ७५ छ । त्यसैले महका बारेमा लिने निर्णयले धेरै परिवार प्रभावित हुन्छन् । यस कारण सरकारलाई हामी निर्णय सच्चाउन अपिल गर्दछौं । नभए आन्दोलनमा जान्छौं,’ पौडेलले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully