जेनजी आन्दोलनपछिको अवस्थालाई सहज बनाउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, व्यवसायीलाई उत्प्रेरित गर्ने र रोजगारी सिर्जना गर्ने मुख्य उद्देश्य
What you should know
पोखरा — पोखरामा हुन लागेका विभिन्न मेला महोत्सवले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
पोखरामा यही मंसिर, पुस र माघमा तीन वटा ठूला मेला महोत्सव आयोजना हुँदैछन्, जसले करोडौं रुपैयाँको कारोबार र रोजगारी सिर्जनामा टेवा पुर्याउने विश्वास लिइएको छ ।
१७ देखि २१ मंसिरसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक, ३ देखि १४ पुससम्म २१ औं लेखनाथ महोत्सव र २९ पुसदेखि ११ माघसम्म १४ औं पोखरा महोत्सव आयोजना हुँदैछन् । यी तीनवटै महोत्सवको मूल उद्देश्य स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीलाई उत्प्रेरित गर्नु र रोजगारी सिर्जना गर्नु रहेको छ ।
गत वर्षको २० औं लेखनाथ महोत्सवले आयोजकको लक्ष्यलाई नै नाँघ्दै उत्साहजनक नतिजा दिएको थियो । १३ दिनसम्म चलेको महोत्सवमा ९ करोड ५० लाख रुपैयाँभन्दा बढी कारोबार भएको थियो भने ३ लाखभन्दा बढी दर्शकले मेला अवलोकन गरेका थिए ।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली गत वर्ष लक्ष्यभन्दा बढी कारोबार र दर्शक संख्या हासिल भएकोले मेला महोत्सवले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने कुरा प्रमाणित भएको बताउँछिन् । महोत्सवमार्फत यस क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीका उत्पादनको प्रदर्शनी एवं बिक्री गरिने उनले बताइन् ।
यस वर्ष आयोजना हुन लागेको २१ औं लेखनाथ महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबाबु भट्टराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपूर्ण रहेको बताए । ‘यस्ता महोत्सवले व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन सहयोग पुग्छ,’ उनले भने, ‘राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशील बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।’ मेला महोत्सवले स्थानीय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, बिक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने उनले बताए ।
पोखरा–२७ तालचोकमा हुने यस वर्षको लेखनाथ महोत्सवमा करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । ३ सय ३५ स्टल रहने महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने र खर्च कटाएर १० लाख बचत हुने अनुमान गरिएको छ । बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण र पर्यटन प्रवर्द्धनमा खर्च गरिने भट्टराईले बताए । लेखनाथ उद्योग वाणिज्य संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको मेलालाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सवका रुपमा आयोजना गर्दै आएको छ ।
पोखरा उद्योग वाणिज्य संघले गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई यसपल्ट मणिपाल शिक्षण अस्पतालले साथ दिएको छ । पोखरा प्रदर्शनी केन्द्रमा हुने ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक मनोरञ्जनात्मकभन्दा पनि उद्यमशीलता विकासको थलो बनाउने उद्देश्यले यसपल्ट समयावधि घटाएर ५ दिनमा झारिएको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । ‘विशुद्ध स्वदेशी उत्पादन तथा सेवाको बजार पहिचान, प्रवर्द्धन तथा प्रचार–प्रसार, पोखराको पर्यटन र व्यापार प्रवर्द्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्ने मेलाको उद्देश्य हो,’ उनले भने ।
पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रूपमा विकास गर्ने दिशामा मेलाको महत्त्वपूर्ण योगदान रहने उनको भनाइ छ । ‘पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित छ,’ उनले भने, ‘यसबाट हामीले मनग्गे विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौं भन्ने पुष्टि हुँदै गएको छ ।’
विगत १३ वर्षदेखि क्यान नेपाल महासंघ, कास्कीले आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्नुको उद्देश्य सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानले पछिल्लो समयका प्रविधि र दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका राख्नु रहेको उनले बताए ।
क्यान नेपाल महासंघ, कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराउने, साइबर सुरक्षाबारे सचेतना फैलाउने लगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए ।
पोखरामा महोत्सवको थालनी पोखरा उद्योग वाणिज्य संघले गरेको हो । विसं २०४२ सालमा संघले पोखरा महोत्सव आयोजना गरेको थियो । उक्त महोत्सवकै निरन्तरताको रुपमा हाल संघले पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला गर्दै आएको छ ।
युनाइटेड क्लब पोखराले अमरसिंहचौरमा आयोजना गर्ने पोखरा महोत्सवको तयारी थालिसकेको छ ।
२९ पुसदेखि ११ माघसम्म हुने १४ औं पोखरा महोत्सवसहित यी तीनवटै मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, फूल, अटो, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, लोकदोहोरी प्रतियोगिता, हास्य व्यंग्य कार्यक्रम, खाना महोत्सव, पप कन्सर्ट र लाइभ ब्यान्डका कार्यक्रम रहनेछन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा गर्ने सडक महोत्सवको तयारी थालिसकेको छ । लेकसाइडको सडकमै हुने यो महोत्सव अंग्रेजी नयाँ वर्षमा हुने नेपालकै ठूलो महोत्सव हो ।
पोखरामा आयोजना हुन लागेका यी मेला महोत्सवले जेनजी आन्दोलनपछिको आर्थिक मन्दीको अवस्थामा स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने, व्यवसायीदेखि उपभोक्तासम्म सबैलाई फाइदा पुर्याउने र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
