चार महिनामा पौने १६ अर्बको सुन आयात, व्यवसायी भन्छन् : मूल्य बढ्दा सिजनमै माग छैन

चालु आर्थिक वर्षमा सुनको आयात बढेको छ तर उच्च मूल्यका कारण उपभाेक्ताको माग घटेको र व्यापार गत वर्षको तुलनामा आधा मात्रै रहेको व्यवसायी बताउँछन् ।

मंसिर १२, २०८२

सीमा तामाङ

Gold imports worth Rs. 1.6 billion in four months, businessmen say: There is no demand in season as prices rise

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको चार महिनामा मात्रै १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँको सुन आयात भएको छ । उक्त आयातबाट १ अर्ब ५७ करोड २१ लाख रुपैयाँ राजस्व उठेको भन्सार विभागको तथ्यांक छ ।  

गत आर्थिक वर्षको सोही अवधिमा  १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको सुन आयात भएको  थियो । उक्त सुन आयातबाट २८ करोड ५५ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको चार महिनामा सुनको आयात ह्वात्तै बढेको देखिएको छ भने सुनको मूल्य पनि बढ्दो क्रममै छ । 

गत आर्थिक वर्ष भर १७ अर्ब १२ करोड रूपैयाँको सुन आयात भएको थियो ।

विश्वका केन्द्रीय बैंकहरुले डलर सञ्चितिकाे सट्टा विविधीकरणलाई प्राथमिकता दिनु, लगानीको अन्य क्षेत्र संकुचन हुनु, अझै पनि सुनलाई सुरक्षित लगानीको रुपमा हेरिनुका साथै विश्वका सबैभन्दा ठूलो सुन उपभोग गर्ने राष्ट्रहरुमध्ये एक भारतमा बलियो माग देखिनुलगायत  कारणले सुनको मूल्य बढेको विश्‍लेषक बताउँछन् ।

शुक्रबार मात्रै सुनको मूल्य एकै दिन २२ सय रुपैयाँले बढेको छ । प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ६ सय  रुपैयाँ पुगेको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको हो ।

कुल १४ कारोबार दिनपछि सुनको मूल्य फेरि तोलामा २ लाख ५० हजार रुपैयाँ नाघेको महासंघको तथ्यांक छ । यसअघि कात्तिक २७ मा सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ थियो । त्यसयता मूल्य घट्ने-बढ्ने भइरहे पनि २ लाख ५० हजार रुपैयाँ पुगेको थिएन ।  

महासंघले अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनप्रति आकर्षण कायमै रहेकाले  सुनको मूल्य बढिरहेको र नेपाली बजारमा पनि यसैको प्रभाव परेको हो महासंघले जनाएको छ । 

सुनलाई सुरक्षित लगानीको रुपमा हेरिरहेकाले लगानीकर्ता आकर्षित भइरहेकाले मूल्य समेत बढी रहेको महासंघका महासचिव किरण भाई बज्राचार्यले बताए । 'अन्तर्राष्ट्रिय बजारमा लगानीको वातावरण बन्न सकेको छैन, लगानीको हिसाबले सुन सुरक्षित देखिएकाले लगानीकर्ता आकर्षित भइरहेका छन्,' उनले भने, 'लगानीकर्ता झुम्मिँदा मूल्य  निरन्तर बढिरहेको छ ।' चीनलगायत केही मुलुकले सुन सञ्चिति बढाउने काम नरोकिएको समेत उनको भनाइ छ । 

विश्वका केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर घट्ने अनुमान गरिररहेकाले सुनको मूल्य झन बढ्न सक्ने जानकार बताउँछन् । 'ब्याजदर घटिरहँदा सुनमा लगानी बढ्दो छ, सेयर बजारलगायत अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नहुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भइरहेका छन्,' बज्राचार्यले भने, 'अन्तर्राष्ट्रिय रुपमा ब्याजदर बढ्ने, भूराजनीतिक तनाव घट्ने हो भने सुनको मूल्य घट्न सक्छ ।'

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार  रुपैयाँ पुग्दा लगानीकर्ता बढिरहे पनि सिजनमै उपभाेक्ताको माग बढ्न नसकेको व्यवसायी बताउँछन् । 'सुनको मूल्य बढ्दा सिजनमै सुनको व्यापार बढ्न सकेको छैन । जुन मात्रामा सुनको काम हुन्थ्यो, व्यापार हुन्थ्यो । यो वर्ष त्यो मात्रामा हुन सकेको छैन,' बज्राचार्यले भने, 'गत वर्षको तुलनामा यो मंसिरमा सुनको व्यापार ५० प्रतिशत पनि छैन । मंसिरमा बिहेको साइत पनि कम छ । सुनको मूल्य बढ्दो छ । त्यसैले माग कम  छ ।'

सुनको खरिदबिक्रीको सिजन भए पनि अहिले कम तौलका सुनका सामग्रीको मात्रै माग रहेको बज्राचार्यले बताए । 'पहिला बिहेका लागि एउटै परिवारबाट १० देखि २० तोलासम्मका सुनका गरगहना बनाउँथे, अहिले २ तोला ३ तोलामै काम चलाइरहेका छन्,' उनले भने, 'त्यसैले सुन खपत कम भइरहेको छ ।' पहिला १/२ तोलाको सुनको चुरा बनाउँथे भने अहिले चार आना/आधी तोलाको मात्रै बनाउने गरेको बज्राचार्यले सुनाए ।

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्ष्य गर्दै गत असोजमा सुन आयातको कोटा समेत बढाएको छ  । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोलाई २५ किलोग्राम कायम गरेको छ । नेपालमा सुन आयात वाणिज्य बैंकले मात्रै गर्न पाउँछन् । बैंकले आयात गरेको सुन गहना व्यवसायीको संघ, महासंघ, संस्थाको सिफारिसमा व्यवसायीले पाउँछन् । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको परिमाण बढाएकाले पनि बढी आयात भएको देखिएको व्यवसायी बताउँछन् । 

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully