बंगलादेश अब ६० मेगावाट बिजुली जाने

बंगलादेशसँग भएको ४० मेगावाट बिजुली खरिद–बिक्रीको सम्झौताअनुरूप नै थप २० मेगावाट बिजुली किन्न आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका देवले बताए ।

मंसिर १२, २०८२

सीमा तामाङ

Bangladesh will now have 60 megawatts of electricity

What you should know

काठमाडौँ — नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप २० मेगावाट पनि किन्ने सहमति गरेको छ । नेपालका ऊर्जा सहसचिव सन्दीपकुमार देव र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदल बैठकले गरेको सिफारिसलाई सचिवस्तरीय छलफलबाट सहमति गरिएको हो ।

बंगलादेशको ढाकामा बिहीबार भएको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा उक्त सहमति भएको हो ।

नेपालका तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बैठक बसेको हो । बंगलादेशसँग भएको ४० मेगावाट बिजुली खरिद–बिक्रीको सम्झौताअनुरूप नै थप २० मेगावाट बिजुली किन्न आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका देवले बताए । 

‘बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गरिरहेका छौं, प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिक्री गर्ने सम्झौता भइसकेको छ, सोही सम्झौता दरकै आधारमा थप २० मेगावाट बिजुली पनि बेच्ने सहमति भएको हो,’ उनले भने । थप २० मेगावाट बिजुलीका लागि नेपाल र बंगलादेशले आवश्यक प्रक्रिया पूरा गरी जुन १५ देखि खरिद–बिक्री गर्ने देवले जनाए । 

वर्षायाममा देशभित्र खपत भएर पनि बच्ने बिजुलीलाई नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ भने हिउँदयाममा आन्तरिक माग धान्न भारतबाट बिजुली किन्दै आएको छ । 

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारत (एनभीभीएन) बीच १७ असोज २०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । ३० कात्तिक २०८१ मा पहिलो पटक १२ घण्टा मात्र बंगलादेशमा बिजुली निर्यात गरिएको थियो । प्राधिकरणले गत १५ जुनदेखि १५ नोभेम्बरसम्म पुनः ४० मेगावाट बिजुली निर्यात गरेको थियो । बंगलादेशलाई हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बिजुली निर्यात गर्ने सम्झौता छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन र भारत–बंगलादेशबीचको बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश पुग्छ । प्राधिकरणका अनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यातका लागि स्वीकृति भएको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि पनि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने सम्झौता छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म १४ अर्ब १२ करोड रुपैयाँको बिजुली भारत र बंगलादेशमा निर्यात गरिएको प्राधिकरणले जनाएको छ । तीन महिनामा प्राधिकरणले १ अर्ब ८४ करोड युनिट विद्युत् निर्यात गरेको हो । प्राधिकरणका अनुसार हालसम्म करिब १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ (बिहीबारको विनिमय दरअनुसार) को बिजुली बंगलादेशलाई निर्यात भएको छ । यो आम्दानी २०२४ को १५ नोभेम्बरको १२ घण्टा र २०२५ को १५ जुनदेखि १५ नोभेम्बरसम्मको हो । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लाई पनि बिजुली बेच्ने गरेको छ । 

भारतसँग विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । बंगलादेशसँग भने डलरमा बिजुली निर्यात भइरहेको छ । भारत सरकारले पहिलो पटक अक्टोबर २०२१ मा नेपालबाट ३९ मेगावाट विद्युत् लैजान अनुमति दिएको थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully