धनकुटामा करिब ४ दशक अघि व्यक्तिगत प्रयासमा सुरु भएको एभोकाडो खेती विस्तार भएर अहिले १५ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ। खेतीमा लागेका किसानको संख्या ५ हजार ८ सय पुगेको छ भने बिरुवा र फल बिक्रीबाट वर्षेनि करिब ४ करोड रुपैयाँ आम्दानी भइरहेको छ।
धनकुटा — दशक अघिसम्म जुनार र सुन्तलाले लटरम्म देखिने धनकुटाको नगर क्षेत्रका बारी बगैँचा बढ्दो तापक्रम र सिट्रस ग्रिनिङ्ग जस्ता रोगले मासिँदै गए। छारा गाउँ, कर्मिटार र बाल मन्दिर लगायत पहिला मनग्ये जुनार र सुन्तला उत्पादन हुने ठाउँमा मात्रै होइन, देव्रेबास, कचिडे, स्कुलडाँडा, सेउले र सिप्तिङ्ग लगायतका स्थानमा पनि सुन्तला उत्पादन घटेको छ।
जहाँ-जहाँ सुन्तला र जुनार मासिँदै छ, त्यहाँका किसानले एभोकाडो खेती रोजेका छन्। सुन्तला र जुनारले भरिभराउ हुने बगैँचा अहिले एभोकाडोले भरिँदै गएका छन्। जुनार सुन्तलापछिको सम्भाव्य विकल्पका रूपमा किसानले एभोकाडो खेती रोजेका हुन्।
धनकुटा नगरपालिकामा करिब ४ दशक अघि व्यक्तिगत प्रयासमा सुरु भएको एभोकाडो खेती विस्तार भएर अहिले १५ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ। खेतीमा लागेका किसानको संख्या ५ हजार ८ सय पुगेको छ। १० हजार उत्पादन दिने बोट छन्। नौ हजार बढी बिरुवा फल्न थालेका छन्। बिरुवा र फल बिक्रीबाट करिब ४ करोड रुपैयाँ भित्रिएको छ।
सुन्तला खेती मासिँदै गएपछि धनकुटा नगरपालिका क्षेत्रका किसानको आकर्षण एभोकाडो खेतीमा देखिएको छ। एभोकाडो खेतीमा किसानको उत्साह देखेर नगरपालिकाले २०७६ सालमा ‘एभोकाडोको राजधानी’ घोषणा गरेको छ। धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ एभोकाडो खेतीमा लाग्न चाहने किसानलाई प्रेरित गर्न नगरपालिकाले नर्सरी राखेर निःशुल्क बिरुवा वितरण गरेको बताउँछन्।
भन्छन्, ‘खेती विस्तार अपेक्षा गरेभन्दा राम्रो छ, अब व्यवस्थापकीय पक्षमा काम गर्दैछौं।’ उनले व्यवस्थित नर्सरी, बगैँचा व्यवस्थापन, फलको परिपक्वता, बृहत् बजारको खोजी र प्रविधिमा आधारित खेतीका लागि काम गरिरहेको सुनाए।
फराकिलो बजारको खोजी
धनकुटामा मात्रै वार्षिक करिब ४ लाख किलो उत्पादन हुने एभोकाडोको मुख्य बजार काठमाडौँ हो। स्थानीय संकलक मार्फत यहाँ उत्पादित ८० प्रतिशत फल जिल्ला बाहिर जान्छ, धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी बताउँछन्। तर स्थानीय उत्पादकले बगैँचामा प्रति किलो अधिकतम हिजोआज ६०/७० र पुस माघसम्म राख्नसक्दा एक सय ५० रुपैयाँ सम्म पाउँछन्। तर काठमाडौँ, विराटनगर र धरानजस्ता सहरमा उपभोक्ताले प्रति किलो तीनदेखि साढे ६ सय रुपैयाँ सम्म तिर्नुपर्छ।
सरदर २ सय ५० रुपैयाँ का दरले बिक्री हुँदा पनि १० अहिलेका उत्पादनबाट १० करोड रुपैयाँ लिन सकिन्छ। तर उत्पादकले एकदमै कम मूल्य पाउँछन् र उपभोक्ताले बढी तिर्नु परिरहेको अवस्था छ। आर्थिक विकास अधिकारी भन्छन्, ‘उपभोगको वस्तु भएकोले नबिक्ने अवस्था छैन, तर उत्पादकले उचित मूल्य पाएका छैनन्।’
उनले एभोकाडोको बजार प्रवर्द्धनका लागि धनकुटामा बर्सेनि र भारत लगायतका देशमा कृषक र व्यवसायीलाई पठाएर प्रदर्शनीका कार्यक्रम गर्दै आएको सुनाए। तर, राम्रो बजार पाउन प्रदर्शनी मात्रै पर्याप्त नभएकाले मुलुक भित्रको बजार लिंकज र एभोकाडो खेती प्रविधि, प्राविधिक, बगैँचा व्यवस्थापन, उत्पादन, भण्डारण, प्रशोधन तथा बजार नीति आयात गर्नका लागि मेक्सिको देशको सिताकुआरो सहरसँग धनकुटा नगरपालिकाले भगिनी सम्बन्ध स्थापित गर्न लागेको बताए। यसका लागि एभोकाडोको क्षेत्र विस्तार र गुणस्तरीय उत्पादनमा नगरपालिका लागिपरेको उनको दाबी छ। नेपाली मुख्य बजारमा युगान्डा, मेक्सिको र थाइल्यान्डबाट आयातित एभोकाडो बिक्री हुँदै आएको छ।
ब्राण्डिङको प्रयास
उत्पादनको मौलिक पहिचानलाई ब्राण्डिङ भनिन्छ। त्यही पहिचान लिएर वस्तु उपभोक्ताका भान्छा र प्लेटसम्म पुग्छ। भ्याल्यू एड सहितको एभोकाडो उपभोक्तामाझ पुर्याउन नगरपालिकाले आधारभूत काम गरिरहेको छ। गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरीलाई अनुदान, बिरुवामा कलमी, उत्पादन प्रवृत्ति अध्ययन र फलको गुणस्तर सुधारमा काम भइरहेको नगरप्रमुख चिन्तन तामाङ बताउँछन्।
यी सबै कामका लागि पछिल्लो समय मध्यपहाडी काष्ठ फल फलफूल आयोजनासँग सहकार्य गरिरहेको उनको भनाइ छ। भन्छन्, ‘हामीले उत्पादनलाई ब्राण्डिङका लागि योग्य बनाउन किसानलाई सघाउने हो, नगरपालिकाले एक्लैले चाहेर मात्रै यी काम हुँदैनन्।’ प्राविधिक कुरा, गुणस्तर र कानुनी अप्ठेरालाई नगरपालिकाले सहजीकरण गर्ने तामाङको भनाइ छ।
जात पहिचानमै समस्या
पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा आएका विदेशी कृषि प्राविधिक र वैज्ञानिकले भित्राएको भनिने एभोकाडो खेती व्यक्तिगत पहलमा ४० वर्ष अघि सुरु भएको हो। त्यस बेला जुन जुन जातको फल उनीहरूले ल्याएर खाए त्यसैको बीउबाट बिरुवा उमारेर अन्यत्र फैलाइएको बताइन्छ। अहिले धनकुटामा खेती भइरहेको एभोकाडोमा जातको एकरूपता छैन। कुनै जात भदौ महिनामा परिपक्व भएर खान योग्य हुन्छ भने कुनै मंसिरमा पनि तयार हुँदैन। तौल, स्वाद, आकार–प्रकार र रंग पनि अलग पाइन्छ। किसान व्यापारी र एभोकाडो खेतीका अध्येता, कृषि ज्ञान केन्द्रका अधिकारी र अनुसन्धान केन्द्रका वैज्ञानिक सबैले फरक फरक तथ्य र अनुभव व्यक्त गर्छन्।
छैनन्, एभोकाडो विज्ञ
एभोकाडो खेतीको इतिहास पुरानो हुँदै गए पनि विस्तृत अध्ययन गरी आधिकारिक एकीकृत तथ्य तयार भइनसकेको आर्थिक विकास अधिकृत विकास अधिकारीको भनाइ छ।
कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र राना किसानले आठ/दश जातका खेती गरेको देखिए पनि कुन जातबाट, कस्तो हावापानी र उचाइमा कति उत्पादन लिन सकिने भन्ने यकिन साथ बताउन नसकिने बताउँछन्। अन्य बालीमा झैँ सामान्य रोग कीराको उपचार र खेती प्रविधि किसानलाई सुझाव दिन सकिए पनि एभोकाडो खेतीको विशेषता बताउन नसकिएको रानाको भनाइ छ।
किसानका एभोकाडो बगैँचामा देखिएका समस्या समाधानका लागि पाख्रिबास स्थित कृषि अनुसन्धान केन्द्रसँग सम्झौता अनुसार काम अघि बढाइए पनि विशेषज्ञ नहुँदा आशातीत सफलता हासिल गर्न नसकेको आर्थिक विकास अधिकृत अधिकारी सुनाउँछन्। कृषिका क्षेत्रमा काम गर्ने सरकारी संयन्त्रमा एभोकाडो खेतीमा विद्यमान रोग कीराको समाधान बताउन जनशक्तिको खाँचो रहेको उनको भनाइ छ।
व्यावसायिक नबन्दै रोग कीराको चुनौती
धनकुटा क्षेत्रमा सौखका लागि घरका हाता, करेसा र व्यावसायिकताका लागि सयौँ रोपनी जमिनमा एभोकाडो लगाउनेहरू भेटिन्छन्। एक दुईदेखि १५ सय बोटसम्म लगाउने किसान छन्। तर उनीहरू सबैलाई एउटै कुराले सताएको छ, त्यो हो पहिचान नभई रहेका रोग कीरा। धनकुटा नगरपालिका ६ कचिडेका पुरुषोत्तम पोखरेलले तीन रोपनी जमिनमा रहेका एभोकाडोका सबैजसो रुख काटेर हटाएका छन्।
पात ओइलाएर झर्ने, जरा कुहाउने, फलमा गिर्खा देखिने र बोटै सुक्ने समस्या बढेपछि बगैँचाका रुख मास्नुपरेको उनको भनाइ छ। छिमेकी ज्योतिराम पोखरेलको एभोकाडो बगैँचामा पनि उस्तै समस्या छ। बेलाबेला फलिरहेकै बाटोमा झुसिलकीराको प्रकोप थामिनसक्नु हुने किसानहरू बताउँछन्। उत्पादन र आम्दानी राम्रो हुने देखेपछि एभोकाडो खेती रोजेका किसान समस्या समाधान नभए ‘डुबिने’ चिन्तामा छन्। नर्सरी सञ्चालक तथा एभोकाडो उत्पादक ज्योतिराम पोखरेल भन्छन्, ‘रोग एउटा मात्रै होइन, अनगिन्ती छन्।’
मेक्सिको देशसँग साइनो जोड्ने प्रयास
एभोकाडो फलमा विद्यमान जात पहिचानको समस्या समाधान, रोग कीरा व्यवस्थापन र बजार सम्पर्क तथा खेतीको अनुभव हासिल गर्न धनकुटा नगरपालिकाले मेक्सिको सिटीसँग भगिनी सम्बन्ध स्थापित गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि संघीय सरकारले धनकुटा नगरपालिकालाई पूर्वस्वीकृति दिइसकेको छ। अब धनकुटा नगरपालिकालाई मेक्सिकोको सिताकुआरो सहरसँग एभोकाडो खेती प्रविधि, प्राविधिक, बगैँचा व्यवस्थापन, उत्पादन, भण्डारण, प्रशोधन तथा बजार नीति आयात गर्ने बाटो खुलेको हो।
पहिचान हुन नसकेका रोगका कारण एभोकाडोका बोट मर्दै गएका छन्। अहिलेसम्म जात पहिचान र गुणस्तर व्यवस्थापन हुन सकेको छैन। बढी मूल्यमा बिक्री गर्ने बजार सम्पर्कको अभाव छ। नयाँ बाली भएकाले स्थानीय तह, कृषि ज्ञान केन्द्र तथा अनुसन्धान केन्द्रहरूमा एभोकाडो सम्बन्धी विशेषज्ञ प्राविधिक नहुँदा मुख्य समस्याको रूपमा छ। रोग–कीरा नियन्त्रण, ग्राफ्टिङ, बगैँचा व्यवस्थापन, फलको गुणस्तर र परिपक्कताबारे किसानहरू अनुमानकै भरमा छन्।
एभोकाडो खेतीमा किसानले भोगेका यस्ता समस्याका समाधानका लागि धनकुटा नगरपालिकाले एभोकाडो खेतीका बृहत् अनुभव र समृद्ध बजार सम्पर्क भएको मेक्सिको देशको सिताकुआरो सहरसँग भगिनी सम्बन्ध स्थापित गर्दै छ। यसका लागि गत भदौ २ गतेको मन्त्रीपरिषद् बैठकले धनकुटा नगरपालिकालाई पूर्वस्वीकृति प्रदान गरिसकेको छ। सिताकुआरो सहरबाट एभोकाडो खेतीका लागि उन्नत प्रविधि, प्राविधिक र बजार नीतिमा आवश्यक सहयोगको औपचारिक प्रस्ताव गर्ने तयारी नगरपालिकाको छ।
