बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्‍ने

नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बंगलादेशको बरापुकारया, पञ्चगढ़ /ठाकुरगाउँ, भेडामारा र कोमिल्ला सम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न अध्ययन गर्ने सहमति भएको छ ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Bangladesh to buy additional 20 MW of electricity from Nepal

What you should know

काठमाडौँ — नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । अहिले नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप बिजुली किन्ने सहमति गरेको हो ।

बंगलादेशको ढाकामा भएको बिहीबार नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को बैठकमा उक्त सहमति भएको हो । नेपाल तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र  बंगलादेश सरकारको विद्युत् ऊर्जा तथा खनिज सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ७औं बैठक बसेको हो ।

मंसिर १० मा  नेपाल सरकारका ऊर्जा सहसचिव सन्दीप कुमार देव र  बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसलाई सचिवस्तरिय छलफलबाट सहमति गरिएको छ ।

'बंगलादेशले थप २० मेगावाट बिजुली आयात गर्न र नेपालले निर्यात गर्नका लागि आवश्यक स्वीकृतिहरू लिएर प्रकिया अघि बढाउने सहमति भएको छ,' ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका देवले भने, 'प्रति युनिट मूल्यदेखि सबै पुरानै सम्झौताअनुसार हुनेछ, थप २० मेगावाटका लागि आवश्यक स्वीकृति लिनुपर्नेछ ।'

हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५–नोभेम्बर १५ सम्म बिजुली बिक्री गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा सम्झौता भएको थियो । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी सम्झौता भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि स्वीकृति दिएको छ ।

Bangladesh to buy additional 20 MW of electricity from Nepal

नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशको बरापुकारया, पञ्चगढ /ठाकुरगाउँ, भेडामारा र कोमिल्ला सम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न अध्ययन गर्ने समेत सहमति भएको छ । 

नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने जेएससी बैठकले निर्णय गरेको छ । 

सुनकोशी -३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने तथा ज्वाइन्ट भेन्चर एग्रिमेन्ट छिटो टुंग्याउने पनि निर्णय भएको छ । 

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्ने सम्बन्धी समझदारी पत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने  र उक्त सम्झौताअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परिक्षण, विद्युतीय चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने विषयमा सहमति भएको छ । 

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने र  बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा एवं नेपाली पक्षका लागि बंगलादेशमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully