सडक बिस्तार थालेको सात वर्ष पुग्नै लाग्दा काम अझै सकिएको छैन । धेरै ठाउँमा कालोपत्र सकिएपनि दाउन्ने खण्डमा ट्राफिक जामदेखि हिलो, धूलोको समस्या कायमै छ ।
What you should know
काठमाडौँ — नारायणगढ–बुटवल सडक बिस्तार थालेको सात वर्ष पुग्नै लाग्दा काम भने अझै सकिएको छैन । समयमै सडक नबन्दा यात्रुले हिउँद होस् या बाढी बर्खा सधैं हिलो र धूलोको सामना गर्नुपर्ने बाध्यता छ । अहिले यो समस्या उक्त सडक खण्डको दाउन्नेमा बढी छ ।
धेरै ठाउँमा कालोपत्र सकिएपनि दाउन्ने खण्डमा ट्राफिक जामदेखि हिलो, धूलोको समस्या कायमै छ । बिस्तार थालिएको १ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म ८२.४६६ किमि चार लेन र १९.३४ किमि दुई लेन सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने ६४ वटा पुलमध्ये ५८ र ४ सय ६८ मध्ये ४ सय ५६ वटा कर्ल्भट निर्माण भइसकेको छ ।
सुरुका दिनमा समस्या भएपनि अहिले धेरै काम भइसकेका कारण आउने बर्खामा यो सडकमा कुनै समस्या नहुने दाबी आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालको छ । ‘सुरुमा यो सडकमा धेरै समस्या भयो, यात्रु, चालकले निकै सास्ती भोग्न पर्यो,’ उनले भने, ‘दाउन्नेमा मात्र अहिले समस्या हो ।’ दाउन्नेबाहेक अरुण खोला र चोरमारा पुलको काम बाँकी छ । उक्त पुलको पनि काम सकिने चरणमा पुगेको उनले सुनाए । ‘दाउन्नेमा १४ मध्ये ३ किमि कालोपत्र भइसकेको छ, दुवैतर्फबाट गरेर ३ किमि ढलान गरिसकिएको छ,’ उनले भने, ‘बाँकी ८ मा चार किमि ढलान गर्न भनिएको छ ।’ उनका अनुसार बाँकी चार किमि सडकमा निर्माण व्यवसायीले ढलान गर्न भनेपनि आयोजनाले कालोपत्र नै गर्न भनेको छ
‘दाउन्नेमा सुरुमा ठाउँ–ठाउँमा ढलान नै गरिएको थियो,’ उनले भने, ‘त्यो बेला कालोपत्र गरेर टिकाउ नभएपछि ढलान गरिएको थियो ।’ अहिले यसको डिजाइन गर्दा सबै सडक कालोपत्र गर्ने रहेपनि दाउन्ने खण्डमा कालोपत्र गर्दा पछिपनि समस्या आउने खतरा हुँदा अन्तर्राष्ट्रिय परामर्शदाताले ढलान गर्न सुल्झाएको उनको भनाइ छ । ‘दाउन्नेमा मोड धेरै छ, भौगोलिक दृष्टिकोणले जटिल र ठाउँ–ठाउँबाट पानी निस्कने समस्या पनि छ,’ उनले भने, ‘त्यसैले सबैभन्दा राम्रो विकल्प ढलान नै हो भन्ने भयो, त्यही अनुसार केही खण्डमा मात्र ढलान गरिएको हो ।’ महँगो पर्ने र त्यो अनुसार बजेट नहुँदा सबै खण्डमा ढलान गर्न नदिइएको उनले बताए । अहिलेसम्म ठेक्का लिने व्यवसायीकै कारण निर्माणमा ढिलाइ भएको आयोजनाको भनाइ छ ।
निर्माण व्यवसायीले समयमै काम नसकेपछि आयोजना कार्यालयले उल्टै ठेक्का तोड्ने चेतावनी दिँदै, पछि हट्दै आएको छ । ठेक्का लिने कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । दोस्रो पटक आयोजनाले परामर्शदातामार्फत एनटीसी (नोटिस टु करेक्ट) नोटिस जारी गर्दै तोकिएको समयभित्र काम नसके ठेक्का तोड्ने चेतावनी दिएको थियो ।
एनटीसीअनुसार सन् २०२४ डिसेम्बरसम्म एक साइडको काम ७० प्रतिशत सकिसक्नुपर्ने र २०२५ को मार्चसम्म कम्तीमा एक साइडको पूरै काम सकेर यातायातका साधन चल्ने बनाउनुपर्ने उल्लेख थियो । यो अनुसार ०८१ को फागुन–चैत भित्र उक्त प्रगति पुग्न पर्थ्यो । अहिलेसम्म निर्माण प्रगति ७४ प्रतिशत मात्र छ । ‘तोडेर नयाँ ठेक्का गर्न पनि समय लाग्छ, फेरि लागत बढ्ने हुन्छ,’ उनले भने, ‘त्यही अनुसार निर्माण व्यवसायीलाई जसरी भएपनि काम सक्न दबाब दिँदै आएका छौं, त्यही अनुसार अहिले काम भइरहेको छ, अब यसको काम सकिन्छ, यात्रु चालक र स्थानीयले सास्ती भोग्नु पर्ने छैन ।’ यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले काममा ढिलाइ गरेपछि सुरुका दिनमा आयोजना कार्यालयले छिटो काम सक्नुपर्ने माग गर्दै उसको केन्द्रीय कार्यालयमा पुगेर दबाब दिएको थियो । अहिले त्यही अनुसार निर्माण व्यवसायीले काम अघि बढाएको सडक विभागले जनायो ।
सडक बनाइसकेपछि पाँच वर्षसम्म मर्मत सम्भारको काम निर्माण व्यवसायीले नै गर्ने छ । ‘यस्तो नियम राखेपछि निर्माण व्यवसायीले गुणस्तरीय काम गर्ने छन्,’ उनले भने । ०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । यसलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ ।तोकिएको समयमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो ।
यस अवधिमा पनि काम पूरा नभएपछि गत साउनमा तेस्रो पटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको छ । यो अवधिमा पनि काम नसकिएपछि चौथोपटक २४ असार ०८३ सम्म म्याद थपिएको छ । यो समयभित्र काम सकिसक्ने दाबी आयोजना कार्यालयको छ । यसको एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । जसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
