नेपाल-श्रीलंकाबीच पर्यटन प्रवर्द्धनका लागि हवाई सेवा विस्तारको प्रस्ताव

दुवै देशका चेम्बर प्रतिनिधिहरूले सीधा हवाई उडान, फ्रि भिसा, कृषि, सूचना प्रविधि र भौतिक पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका लागि पहल गर्न आग्रह गरेका छन् ।

मंसिर ९, २०८२

कान्तिपुर संवाददाता

Nepal-Sri Lanka propose expansion of air services to promote tourism

What you should know

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाई सेवा विस्तारबारे छलफल भएको छ । नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको थियो । 

राजदूत डेल्पितीयासँग चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल श्रीलंकाबीचको व्यापारको आकार वार्षिक औषतमा २ दशमलव ५ मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए । नेपालले १ दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको वस्तु आयात गर्दा शून्य दशमलव ७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको अध्यक्ष अग्रवालले बताए ।  

दुवै देशका चेम्बर प्रतिनिधिहरुबीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृृषि तथा जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माणजस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूतसमक्ष चेम्बरले प्रस्ताव गरेको थियो । 

चेम्बरले सातामा कम्तीमा एउटा उडान श्रीलंका–लुम्बिनी एवं लुम्बिनी श्रीलकंका सीधा हवाई सेवा सञ्चालन गरेर पर्यटकहरु आकर्षित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलंकाका बौद्ध धर्मावलम्बीहरुलाई नेपालमा आकर्षित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।

श्रीलंका भ्रमणका लागि जाने नेपाली पर्यटकहरुलाई फ्रि भिसाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसँग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफुले पहल गरिरहेको बताए ।

श्रीलंकामा आगामी जुनमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारीसमक्ष उनले आग्रह गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully