लामो समय कन्टेनर भारतमै अडकिँदा आयातकर्ताले कन्टेनरको बिलम्ब शुल्क समेत अनावश्यक रुपमा सिपिङ लाइन कम्पनीलाई तिर्नुपरेकाे गुनासाे गरेका छन् ।
What you should know
पर्सा — भारतीय रेल्वेको रोकावटले वीरगन्ज नाकाबाट हुने आयात निर्यात व्यापार नै प्रभावित भएको छ ।
करिब डेढ महिनाअघि सुरु भएको यो समस्या हालसम्म विद्यमान नै रहेको सरोकारवालाले गुनासो गरेका छन् । दसैंअघि नै भारतीय रेल्वेले एकतर्फी रुपमा नेपाल तर्फको रेल्वे र्याक साविकको जस्तो उपलब्ध नगराएर नियन्त्रण लगाउँदै आएको थियो ।
त्यसपछि मोन्था आँधीले गराएको वर्षा, भारतकाे कोलकातामा हुने दुर्गा पूजाको भीडभाड, विहार राज्यमा भएको चुनावलगायतका कारण भारतीय रेल्वेले नेपाल तर्फको र्याक घटाउँदै लगेको छ ।
नेपालको कूल आयात-निर्यात व्यापारको आधा भन्दा बढी वीरगन्ज नाकाबाट हुने गरेको छ । यस्तो अवस्थामा रेल्वे सेवामा देखिएको अवरोधले समग्र नेपालकै आयात निर्यात व्यापार प्रभावित हुने सराेकारवाला बताउँछन् । रेल्वे र्याकमै गरिएकाे नियन्त्रणले नेपाली आयातकर्ताको मालबस्तु समयमा आउन नसकेपछि औद्योगिक उत्पादनदेखि व्यापारमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।
वीरगन्ज भन्सार कार्यालयका भन्सार एजेन्ट सुरेश दासले आफ्नो पार्टीको एउटा कन्टेनर डेढ महिनादेखि भारतको दरभंगास्थित रेल्वे मार्गमा अड्किएको गुनासो गरे । लामो समय कन्टेनर भारतमै अडकिँदा आयातकर्ताले कन्टेनरको बिलम्ब शुल्क समेत अनावश्यक रुपमा सिपिङ लाइन कम्पनीलाई तिर्नुपर्ने उनले बताए । नेपालका थुप्रै आयातकर्ताको कन्टेनर भारतीय रेल्वको आन्तरिक समस्याले भारतको बिभिन्न बन्दरगाह तथा रेल्वे मार्गमै अड्किएर बसेको उनले गुनासो गरे ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले यो समस्याले नेपालका थुप्रै आयातकर्तालाई प्रभाव पारेको बताए । रेलमार्गबाट कन्टेनर तथा बल्क कार्गोका बस्तु ढुवानी गर्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले नेपाली आयातकर्ताले सिर्सिया सुक्खा बन्दरगाहमा उपलब्ध रहेको रेल मार्फत आयात-निर्यात गर्न रुचाउँछन् । तर पछिल्लो समय भारतीय रेल्वेको स्वनियन्त्रण र रोकावटले रेलबाट हुने आयात निर्यात कष्टकर हुँदै गएको उनले बताए ।
कोलकातास्थित प्रिष्टिन लजिस्टिक कम्पनीका पूर्वीक्षेत्रका प्रमुख पार्थ चौधरीले भारतीय रेलसेवामा पछिल्लो समयमा अत्यधिक रोकावट भइरहेको बताए । हाल भने भारतीय रेल्वेले आफ्नो रेलमार्गका कतिपय स्थानमा मर्मत कार्य भइरहेको बताउँदै रेल सेवा प्रभावित भएको दाबी गरिरहेको उनले बताए ।
उनले मंसिर १० सम्म नेपाली कार्गो ढुवानी गर्ने रेल सेवाको रोकावट हुने सूचना आएको बताए । यो रोकावट थप केही दिन लम्बिन सक्ने सम्भावना रहेको उनले बताए ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत झक्कप्रसाद आचार्य पनि नेपाली आयात-निर्यातकर्ताबाट यो गुनासो निरन्तर आइरहेको बताउँछन् । ‘नेपाली आयात निर्यातकर्ताको निरन्तर गुनासो आइरहेको छ,’ उनले भने, ‘यस सम्बन्धमा हामीले भारतीय रेल्वे अधिकारीसँगै प्रत्यक्ष संवाद गरिरहेका छौं ।’
कोलकतास्थित नेपाली कार्गो ह्याण्डलिङ गर्ने संगठन नेपाल कार्गो ह्याण्डलिङ एजेण्ट (नेचा) का नेचाका महासचिव प्रदीपकुमार अग्रवालले पनि पछिल्लो समय भारतीय रेल्वेले नेपाली मालबस्तुको ढुवानीमा गरेको स्वनियन्त्रणले नेपाली आयातकर्तालाई बढी समस्या भएको बताए । उनले तेस्रोमुलुकबाट कोलकाता बन्दरगाहमा आइपुग्ने कन्टेनर लामो समय कोलकातामै अड्किने प्रवृत्ति बढेकाले नेपाली आयातकर्तालाई बिलम्ब शुल्कको भार पनि पर्न गएको बताए ।
सिर्सिया सुक्खा बन्दरगाह संचालक कम्पनी प्रिष्टिनका सिइओ राजीव मोहन झा यो समस्या विद्यमान रहे पनि यसको पूर्ण जिम्मेवार भारतीय रेल्वे नै रहेको बताउँछन् । ‘हामीले बन्दरगाहमा रेल्वे र्याक आएपछि त्यसमा रहेका कन्टेनर तथा बल्क कार्गो बस्तुको ह्यान्डलिंग मात्र गर्ने हो,’ उनले भने, ‘यसबारे भारतीय रेल्वेबाट पनि औपचारिक रुपमा कुनै जानकारी आएको छैन ।’
