प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले शुल्क तिर्नुपर्नेछ । संस्थाको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा शुल्क तय गरेको छ ।
काठमाडौँ — बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ ।
सहकारी संस्था नियमनका लागि स्थापना भएको प्राधिकरणले दर्ताका लागि आह्वान गरेको हो । सहकारी संस्थाहरु अनलाइनमार्फत प्राधिकरणमा दर्ता हुनुपर्नेछ । यसका लागि प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड ०८२’ (पहिलो संशोधन) जारी गरेको छ ।
मापदण्डअनुसार सहकारी संस्था दर्ताका लागि प्राधिकरणले बुधबार अनलाइन पोर्टल सार्वजनिक गर्दै छ । उक्त प्रणाली सार्वजनिक भएपछि मात्र सहकारी संस्थाका लागि दर्ताका लागि दिइएको अवधि गणना सुरु हुनेछ । किनकि प्राधिकरणले हालै जारी भएको मापदण्डमा विद्युतीय दर्ता प्रणाली जारी भएपछि मात्र म्याद गणना सुरु हुने उल्लेख छ ।
प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले शुल्क तिर्नुपर्नेछ । संस्थाको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा शुल्क तय गरेको छ । जसअनुसार २ करोडसम्म कुल सम्पत्ति भएका सहकारीले १ हजार, २ करोडभन्दा बढी १० करोडसम्म ३ हजार, १० करोड भन्दा बढी २५ करोडसम्म ५ हजार, २५ करोड भन्दा बढी ५० करोडसम्म ७ हजार, ५० करोडभन्दा बढी १ अर्बसम्म १० हजार र १ अर्ब भन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्नेछ ।
