विनस्टार क्यासिनोमा लगानी विवाद उच्च अदालत पुग्यो

क्यासिनोको नयाँ लाइसेन्स लिन प्रयास गरिएकाले रोक्का गरिपाऊँ भनी पाण्डेले पाटन उच्च अदालतमा मुद्दासमेत दायर गरेका छन् ।

मंसिर ८, २०८२

दीपेन्द्र बडुवाल

Winstar Casino investment dispute reaches High Court

What you should know

काठमाडौँ — विनस्टार क्यासिनो प्रालिमा सेयरबापत लगानी गरिएको साढे ३ करोड रुपैयाँको हिसाब नदेखिएपछि सिद्धार्थनगर–१०, का दीपक पाण्डेले रकम फिर्ता गरिदिन हारगुहार गरेका छन् ।

रूपन्देहीको ओमसतिया–४, वसन्तपुरस्थित बोधी रेडसन होटल परिसरमा सञ्चालन तयारी भइरहेको विनस्टार क्यासिनोमा २५ प्रतिशत सेयर कायम गर्ने सहमतिमा ३ करोड ४० रुपैयाँ लगानी गरेको पाण्डेको भनाइ छ । सम्झौताविपरीत आफूलाई अलपत्र बनाइएको उनले बताए ।

रकम लेनदेन गर्न क्यासिनोकी सञ्चालक काठमाडौं महानगरपालिका–४, की प्राप्ति पोखरेल र पाण्डेबीच गत वैशाख २४ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा क्यासिनोमा २५ प्रतिशत सेयर कायम हुने गरी पाण्डेले सञ्चालक पोखरेललाई ४ करोड ७५ लाख बुझाउनुपर्ने उल्लेख छ । उक्त रकममध्ये पोखरेललाई ३ करोड ४० लाख रुपैयाँ बुझाइसकेको पाण्डेले दाबी गरेका छन् । 

सम्झौता अनुसार क्यासिनोको सेयर प्राप्त नभएको र सञ्चालकले कम्पनी रजिस्ट्रार, पर्यटन विभाग लगायत सरकारी निकायमा एकल स्वामित्वका कागजात पेस गरेपछि पाण्डेले अन्यायमा परेको जनाउँदै सरोकारवाला निकायमा उजुरी गरेको बताए । यसबीच क्यासिनोको नामसमेत परिवर्तन गरेर इजाजतपत्र लिन प्रयास गरिएको पाण्डेको दाबी छ । विनस्टार क्यासिनो प्रालिमा लगानी सम्झौता गरेर सेयर उपलब्ध नगराएको र सम्झौताविपरीत विनर्स इन्टटेनमेन्ट प्रालिको नामबाट क्यासिनोको नयाँ लाइसेन्स लिन प्रयास गरिएकाले रोक्का गरिपाऊँ भनी पाण्डेले गत कात्तिक ९ गते पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

पाण्डेका अनुसार उच्च अदालतले मंसिर ११ गते साधारण पेसी तोकेको छ । यसबीच ठगी मुद्दा दार्ताका लागि दुईपटक जिल्ला प्रहरी कार्यालय रुपन्देही पुगे पनि उजुरी दर्ता नगरिएको आरोप पाण्डेले लगाए । ‘अहिले मानसिक तनावमा छु,’ उनले भने, ‘मर्नु कि बाँच्नु अवस्थामा पुर्‍याइयो ।’ क्यासिनोमा २५ प्रतिशत सेयर उपलब्ध गराउने सम्झौता गरिसकेपछि पनि हिस्सा प्रदान नगरिएको उनले बताए । आफूले दिएको रकम खर्च गरिसकेपछि कम्पनीबाट अलग्याइएको उनको भनाइ छ । ‘बैंकबाट ऋण निकालेर रकम दिएको हुँ,’ उनले भने, ‘अब कहाँबाट पैसा ल्याएर बैंकमा बुझाऊँ, न्याय माग्न जाँदा प्रहरीले निवेदन दर्ता गर्दैन ।’

होटल बोधी रेडसन प्रालिले पनि शुक्रबार ७ दिने म्याद राखेर सूचना प्रकाशित गरी होटलको पश्चिम उत्तरतर्फ रहेका दुईवटा हलमा सञ्चालन गर्नेगरी होटल व्यवस्थापन र विनस्टार क्यासिनो प्रालिबीच २०८१ माघमा सम्झौता भएको जनाएको छ । उक्त क्यासिनोले २०८१ चैत १ बाट दुवै हल प्रयोग गरे पनि सम्झौताअनुसार अहिलेसम्म धरौटी र बहाल रकम नबुझाएको होटलका सञ्चालक समिति अध्यक्ष प्रमोदकुमार यादवले जारी गरेको सूचनामा उल्लेख छ । पटकपटक सम्पर्क गर्दा समेत कुनै चासो नदिएकाले सूचना प्रकाशन गरेको ७ दिनभित्र होटललाई तिर्नुपर्ने सम्पूर्ण रकम चुक्ता गर्न र नगरेको खण्डमा सूचनालाई आधार मानी होटल र कम्पनीबीचका सम्पूर्ण सम्झौता रद्द हुने जानकारी गराइएको छ । 

सूचनाबारे पर्यटन विभाग, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन, प्रहरी र रोहिणी गाउँपालिकालाई बोधार्थ पठाइएको छ । क्यासिनो सञ्चालक पोखरेलका श्रीमान् सुनिलजंग रायमाझीले पाण्डेले नै सम्झौताअनुसार समयमा रकम भुक्तान नगर्दा आफूहरू मर्कामा परेको जनाए । ‘उल्टै पाण्डेविरुद्ध क्षतिपूर्ति मु्द्दा हाल्नुपर्नेछ,’ उनले भने, ‘पाण्डेलगायत होटल सञ्चालक र कर्मचारीको अवरोधले गर्दा क्यासिनो सञ्चालन गर्न सकेका छैनौं । अदालतमा मुद्दा हालेर काम अगाडि बढाउन दिइएको छैन ।’ पाण्डेले पैसा भुक्तान गर्ने भाका जेठ मसान्तमा सकिएका कारण आफूहरू मर्कामा परेको पनि रायमाझीले बताए ।

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थीले क्यासिनोको लाइसेन्स प्रदान गर्ने जिम्मेवारी विभागसित भएको बताए । ‘हामीले कम्पनी रजिस्ट्रार कार्यालयबाट आउने कागज हेर्ने हो,’ उनले भने, ‘रकम ठगीका विषयमा उजुरी आएको छ । तर, यसबारे जिल्ला प्रहरीमा जानु राम्रो हुन्छ । हामीले हेर्दैनौं ।’

दीपेन्द्र बडुवाल

Link copied successfully