नेपाल रेमिटरर्स एसोसिएसन र मलेसियन एसोसिएसन अफ मनी सर्भिसेसबीच साझेदारी

यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास प्राप्त हुने बताइएको छ ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Partnership between Nepal Remitters Association and Malaysian Association of Money Services

What you should know

काठमाडौँ — नेपाल रेमिटरर्स एसोसिएसन (एनआरए)ले मलेसियन एसोसिएसन अफ मनी सर्भिसेस बिजनेस(एमएएमएसबी)सँग औपचारिक रूपमा साझेदारी गरेको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास प्राप्त हुने बताइएको छ ।

केही चरणका छलफलहरू पछि, दुवै संघहरूले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न, र वृद्धि प्रोत्साहन गर्न संयुक्त रूपमा काम गर्ने सहमति जनाएको छ । यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।

सम्झौतामा एमएएमएसबीका अध्यक्ष जाजाखान बिन कादेर गनी र एनआरएका अध्यक्ष रितेश मित्तलले हस्ताक्षर गरेका हुन् । जसले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवर्द्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकहरूको नियन्त्रण, र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने बताइएको छ ।

यस अवसरमा एनआरएका अध्यक्ष रितेश मित्तलले साझेदारीले नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको बताए । ‘एमएएमएसबी सँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पुर्‍याउनेछ,’ उनले भने ।

एमएएमएसबीका अध्यक्ष जाजाखान बिन कादेर गनीले भने, 'हामी नेपाल रेमिटर्स एसोसिएसनसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । यो साझेदारीले प्रविधि, दक्षता विकास, र अन्तर्राष्ट्रिय मापदण्डको पालना मार्फत मनी सर्भिसेस क्षेत्रलाई सुदृढ बनाउने हाम्रो साझा प्रतिबद्धता झल्काउँछ ।'

यो सहकार्यले दुवै संस्थाबीच सीप विकास, नीतिगत संवाद, र क्षेत्रीय समन्वयका नयाँ द्वारहरू खोल्ने विज्ञप्तिमा उल्लेख छ । यसले विश्वभरका लाखौं वैदेशिक श्रमिक र उनीहरूका परिवारका लागि अझ सुरक्षित, छिटो र किफायती रेमिटेन्स सेवाहरू उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण कदम स्थापित गर्ने बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully