जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपालले हालसम्म पायो ५८ अर्ब रुपैयाँ

जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरण गर्न १ खर्ब २१ अर्ब १२ करोड अमेरिकी डलर आवश्यक पर्ने अर्थ मन्त्रालयको दाबी

मंसिर ८, २०८२

यज्ञ बञ्जाडे

Nepal has received Rs 58 billion so far to mitigate the effects of climate change.

What you should know

काठमाडौँ — जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विभिन्न जलवायु कोषमार्फत नेपालले हालसम्म ४० करोड ७१ लाख अमेरिकी डलर (झन्डै ५८ अर्ब रुपैयाँ) सहयोग प्राप्त गरेको छ ।

विभिन्न जलवायु कोषमार्फत हालसम्म नेपालले प्राप्त गरेको उक्त रकमबाट ४९ परियोजना सञ्चालनमा छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले द्विपक्षीय सहायता, बहुपक्षीय विकास बैंकले स्थापना गरेको हरित जलवायु कोष (जीसीएफ) र जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय रूपरेखा (यूएनएफसीसीसी) मार्फत आर्थिक सहयोग प्राप्त गर्दै आएको छ ।

नेपालले हालसम्म जीसीएफबाट १४ करोड ८३ लाख अमेरिकी डलर, विश्व वातावरण सुविधा (जीईएफ) बाट १० करोड ३० लाख डलर, अनुकूलन कोषबाट ९५ लाख डलर र जलवायु लगानी कोषबाट १५ करोड ३० डलर गरी ४० करोड ७१ लाख अमेरिकी डलर प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरण गर्न १ खर्ब २१ अर्ब १२ करोड अमेरिकी डलर आवश्यक पर्ने अर्थ मन्त्रालयको तथ्यांक छ । उक्त रकममध्ये आन्तरिक स्रोतबाट १२ अर्ब ३२ करोड अमेरिकी डलर र बाह्य स्रोतबाट १ खर्ब ८ अर्ब ८३ करोड अमेरिकी डलर जुटाउने सरकारको योजना छ । हालसम्म यो शीर्षकमा नेपालले प्राप्त गरेको रकम कुल आवश्यक रकमको एक प्रतिशतभन्दा पनि कम हो ।

विश्वव्यापी रूपमा भएको जलवायु परिवर्तनले पारेको असरबाट नेपाल पनि अछुतो छैन । नेपालको हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका तर जलवायु परिवर्तनको प्रभाव अत्यधिक रहेको जनाइएको छ ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा बढी असर परेको जानकार बताउँछन् । जसका कारण वर्षामा हुने परिवर्तन खडेरी तथा मरुभूमीकरण, कृषि उत्पादन तथा खाद्य सुरक्षा तथा ऊर्जा उत्पादनमा कमी, स्वास्थ्यमा समस्या पूर्वाधार निर्माण खर्च बढ्नेलगायत असर परेको छ ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्न विश्वव्यापी रूपमा विभिन्न प्रयास भएका छन् । जसअनुसार जलवायु परिवर्तनसँग सम्बन्धित संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (१९९२), क्योटो महासन्धि (१९९७) र पेरिस सम्झौता २०१५ (जसले विश्वको तापक्रमलाई २ डिग्रीसम्म बढ्न नदिएर १.५ डिग्रीमै कायम राख्ने उल्लेख छ) भएका छन् ।

प्रत्येक वर्ष पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) हुने गरेको छ । जसमा २०३५ सम्म जलवायु वित्तको रकम वार्षिक ३ सय अर्ब डलर पुर्‍याउने प्रतिबद्धता गरिएको छ । जलवायु वित्तका लागि हरित जलवायु कोष, विश्व वातावरण सुविधा, अनुकूलन कोषलगायत कोष स्थापना गरिएका छन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully