साढे ९३ अर्ब रुपैयाँको वस्तु निर्यात हुँदा ६ खर्बको आयात

निर्यात उल्लेख्य रूपमा बढ्न नसक्दा मुलुकले चार महिनामा मात्रै ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा बेहोर्‍यो ।

मंसिर ८, २०८२

सीमा तामाङ

Goods worth 93.5 billion rupees were exported, while imports worth 6 trillion rupees were imported.

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको साउन–कात्तिकसम्म ६ खर्ब ९ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशतले बढी हो । आयातसँगै निर्यात पनि बढेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ । जब कि गत आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

उल्लेख्य रूपमा निर्यात हुन नसक्दा मुलुकले चार महिनामा मात्रै ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा थियो । आयात र निर्यात दुवै बढेको देखिए पनि व्यापार घाटाको खाडल बढिरहेको छ । विभागका अनुसार चार महिनामा नेपालले ७ खर्ब २ खर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

आयात हुने र निर्यात हुने मुख्य वस्तुमा कच्चा भटमासको तेल छ । विभागका अनुसार चार महिनामा ३७ अर्ब ९६ करोड रुपैयाँको अप्रशोधित भटमासको तेल आयात भएको छ । सोही अवधिमा ३८ अर्ब ४३ करोड रुपैयाँको प्रशोधित भटमास तेल निर्यात गरिएको छ । तेस्रो मुलुकबाट आयात हुने सोयाबिन कच्चापदार्थ नेपालमा प्रशोधन भएर भारत निर्यात गरिन्छ । निर्यातमा छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायी भटमास तेल स्वदेशमा बिक्रीभन्दा भारतमै निर्यात गर्न रुचाउँछन् ।

चालु आर्थिक वर्षको चार महिनामा १५ अर्ब ७२ करोड ११ लाखको सुन आयात, गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको सुन आएको थियो । चालु आर्थिक वर्षको चार महिनामा १५ अर्ब ७२ करोड ११ लाख ४४ हजार रुपैयाँको सुन आयात भएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँको मात्रै सुन आयात भएको थियो । पछिल्लो समय सुनको मूल्य बढ्दै जाँदा लगानीका लागि सुरक्षित मानिने सुनमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोही कारण आयातसमेत बढेको जानकार बताउँछन् ।

चालु आर्थिक वर्षको चार महिनामा मात्रै ३१ अर्ब ८९ करोड रुपैयाँको डिजेल, २२ अर्ब ३७ करोड रुपैयाँको पेट्रोल र १८ अर्ब ८ करोड रुपैयाँको खाना पकाउने ग्यास आयात भएको विभागको तथ्यांक छ । व्यापार घाटा बढाउन डिजेल, पेट्रोल, एलपीजी ग्यासको ठूलो योगदान छ । यी वस्तु आयात मात्रै हुन्छन् । सरकारले डिजेल र पेट्रोल आयात प्रतिस्थापनका लागि विद्युतीय सवारीमा जोड दिएको छ भने ग्यास आयातलाई निरुत्साहित गर्न विद्युतीय चुलोमा जोड दिँदै आएको छ । तर पनि प्रभावकारी हुन सकेको छैन ।

विभागका अनुसार अलैंची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बराबरको १८ लाख २३ हजार किलो भारतमा निर्यात भएको छ । सूर्यमुखी तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ४० हजार लिटर भारतमा निर्यात भएको छ । ३ अर्ब २६ करोड रुपैयाँको गलैंचा, २ अर्ब ७३ करोडको सूर्यमुखीको बीउ र तेल, २ अर्ब १५ करोडको ब्लिच नगरिएका जुटका धागो, २ अर्ब ७ करोडको प्रशोधित पाम तेल, २ अर्ब ६ करोडको धागो निर्यात भएको छ ।

नेपालले १ सय ४२ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ । तर १ लाख रुपैयाँभन्दा कम व्यापार हुने मुलुकको तथ्यांक विभागले सार्वजनिक गर्ने मासिक प्रतिवेदनमा सार्वजनिक गर्दैन । नेपालले २९ मुलुकसँग मात्रै नाफाको व्यापार गर्दै आएको छ । डेनमार्क, रोमानिया, स्विडेन, इराक, फिजी, लेबनान, कोलम्बियालगायत मुलुकसँग नाफाको व्यापार गर्छ ।

चालु आर्थिक वर्षको चार महिनामा ४ करोड ९९ लाख ९७ हजारको वस्तु आयात गर्दा ३२ करोड ४४ लाख १४ हजारको वस्तु निर्यात गरेको विभागको तथ्यांक छ । डेनमार्कबाट जनावरलाई खुवाइने विभिन्न वस्तु, एन्टिबायोटिकलगायत आयात गरिएको छ । फेल्टका सामग्री, जर्सी, विभिन्न लत्ताकपडा, अचार, पास्तालगायत वस्तु निर्यात गरिएको छ ।

...

कुन वस्तु कतिको आयात भयो ?

कच्चा सोयाबिन तेल : ३७ अर्ब ९६ करोड

डिजेल : ३१ अर्ब ८९ करोड

पेट्रोल : २२ अर्ब ३७ करोड

एलपीजी ग्यास : १८ अर्ब ८ करोड

डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट : १७ अर्ब १५ करोड

फलामका सामग्री : १७ अर्ब ५ करोड

मोबाइल फोन : १६ अर्ब १५ करोड

सुन : १५ अर्ब ७२ करोड

फलाम तथा स्टिल : १० अर्ब १७ करोड

...

कुन वस्तु कतिको निर्यात भयो ?

प्रशोधित सोयाबिन तेल : ३८ अर्ब ४३ करोड

अलैंची : ३ अर्ब ९७ करोड

गलैंचा : ३ अर्ब २६ करोड

सूर्यमुखीको बीउ र तेल : २ अर्ब ७३ करोड

ब्लिच नगरिएको जुटका धागो : २ अर्ब १५ करोड

प्रशोधित पाम आयल : २ अर्ब ७ करोड

धागो : २ अर्ब ६ करोड

मिश्रित जुस : १ अर्ब ७६ करोड

कालो चिया : १ अर्ब ५४ करोड

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully