४ महिनामा निर्यात ७७ प्रतिशतले बढ्यो, ५ खर्ब १५ अर्ब ९५ करोड व्यापार घाटा

साउनदेखि कात्तिकसम्ममा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । सोही अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाखबराबरको स्वदेशी उत्पादन विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात १८.७१ र निर्यात ७७.५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवै बढेको हो ।

गत आर्थिक वर्षको पहिलो अवधिमा आयात ०.१७ र निर्यात ४.१६ प्रतिशतले मात्र बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गत साउनदेखि कात्तिकसम्ममा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । सोही अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको स्वदेशी उत्पादन विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ । यसरी हेर्दा चार महिनाको अवधिमा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा मुलुकले बेहोरेको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको भन्दा बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । गएको चार महिनामा नेपालले ७ खर्ब २ खर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको कुल द्विपक्षीय वैदेशिक व्यापार भएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल ३८ अर्ब ४३ करोड रुपैयाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार लिटर भारत निर्यात भएको छ । यस्तै ठूलो अलैंची ३ अर्ब ९७ करोड ४३ लाख रुपैयाँ बराबरको १८ लाख २३ हजार किलो भारतमा निर्यात भएको छ । त्यस्तै सनफ्लावर तेल २ अर्ब ७३ करोड २८ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ४० हजार लिटर भारतमा निर्यात भएको छ ।

यस्तै, जुट वा अन्य टेक्सटाइल बास्ट फाइबरबाट बनेको ब्लिच नगरिएको बुनेको कपडा २ अर्ब १५ करोड १५ लाख रुपैयाँबराबरको ३ करोड ६६ लाख ३५ हजार स्क्वायर मिटर भारतमै निर्यात भएको छ । अमेरिकामा भने २ अर्ब ७ करोड ६४ लाख रुपैयाँ बराबरको ६१ हजार स्क्वायर मिटर कार्पेट निर्यात भएको छ । पाम आयल भने २ अर्ब ६ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ३८ हजार लिटर भारतमा निर्यात भएको छ । 

चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी डिजेल आयात भएको छ । ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको ३ लाख ४७ हजार ४ सय १२ किलोलिटर डिजेल आयात भएको छ ।

यस्तै कच्चा सोयाबिन तेल ३० अर्ब ८७ करोड १२ लाख रुपैयाँ बराबरको २० करोड लिटर आयात भएको छ । पेट्रोल २२ अर्ब ३७ करोड २७ लाख रुपैयाँ बराबरको २ लाख ५८ हजार ३ सय ६३ लिटर लिटर आयात भएको विभागको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully