१ खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारितासमेत बढेको छ ।

मंसिर ८, २०८२

रासस

Contributions to the Social Security Fund have reached 1 trillion.

What you should know

काठमाडौँ — सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा झन्डै एक खर्ब रुपैयाँबराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ ।

कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार ३ सय ९ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार १ सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६ सय ८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ । 

कोषका अनुसार, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम २ अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२,  दुर्घटना तथा अशक्तता दाबी २२ करोड ८६ लाख ५३ हजार ४ सय ७५ बराबर रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड ७ लाख ७२ हजार १ सय १६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २ सय ७१ बराबर छ । 

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारितासमेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् ।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

रासस

Link copied successfully