प्रकृतिसँग रमाउने गन्तव्य ‘जंगल-स्टे’

मेची किनारको शान्त जंगलमा टेन्टमा रात काट्ने, दुर्लभ चराचुरुङ्गीको चिरविराहट सुन्ने, नदी किनारमा घुम्ने र जैविक धरोहर नजिकबाट अनुभव गर्नेहरूको लागि जंगल-स्टे नयाँ पर्यटकीय गन्तव्य बनेको छ।

मंसिर ७, २०८२

पर्वत पोर्तेल

'Jungle-stay', a destination to enjoy nature

What you should know

रोङ, इलाम — रोङ गाउँपालिका–६ सलकपुरका सुन्तला किसान लाखमान तामाङको करिब सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको सुन्तला बगान एक समय यहाँको चिनारी थियो। तर, अज्ञात रोगको महामारीले सिङ्गै बगान नष्ट भएपछि तामाङको वर्षौँको परिश्रम खेर गयो। सुन्तला खेतीमा निराश बनेका उनले जीवनयापनको वैकल्पिक मार्ग खोज्दै सुरु गरे- होमस्टे व्यवसाय।

यो व्यवसायले अहिले नयाँ मोड लिएको छ, ‘जंगल-स्टे’को रूपमा। ‘होमस्टेमा बस्न धेरै पर्यटकहरू आउँछन्’, तामाङले भने, ‘होमस्टेमा बस्न आउनेहरू जंगल-स्टेमा कसो नआउँलान।’

गाई गोठदेखि जंगल-स्टेसम्म

सलकपुर नजिकैको घना वन क्षेत्र लाङ्केप बेँसीमा तामाङको एक सामान्य गाई गोठ थियो। दैनन्दिन पशुपालनका लागि बनाइएको त्यो गोठ आज ‘जंगल-स्टे’ नामकी नयाँ पर्यटन अवधारणाको आधार बनेको छ। देशभर होमस्टे प्रशस्त छन्, तर जंगल-स्टे इलाममा पहिलो हो। जंगलमै रात बिताउन पाउने, प्रकृतिसँग एकाकार हुन पाउने अनुभवसहितको जंगलवास तामाङकै पहलमा पहिलो पटक सुरु भएको हो।

‘गाई गोठलाई नै व्यवस्थित गरेर जंगल-स्टेमा परिणत गरेको हुँ,’ तामाङ भन्छन्, ‘प्रकृतिसँग नजिक हुन चाहने जो–कसैलाई हामी पूर्ण सेवासहित स्वागत गर्न तत्पर छौँ।’

यहाँ निश्चित शुल्क तिरेर अतिथिहरूले जंगलमै रात बस्न सक्छन्। टेन्ट, मचान र सुरक्षित रूपमा पुनः निर्मित गोठमा सुत्ने व्यवस्था छ। चुलोको आगोमा पकाइने स्थानीय खानेकुरा, वरिपरिको वनसुगन्ध, रातभर सुसाउने मेची नदी र सुनिने चरा तथा वन्यजन्तुको चिरविराहट आवाजले जंगल-स्टेलाई झन् रोमाञ्चक बनाउनेछ।

सीमानामा उभिएको जैविक धरोहर

जंगल-स्टे नजिकै मेची नदी बग्छ, जसले नेपाल–भारत सीमाना छुट्याउँछ। नदीछेउको यो जंगल क्षेत्र जैविक विविधताले अत्यन्त समृद्ध मानिन्छ। ‘मेची पारि जंगली हात्ती चरिचरण गरिरहेको दृश्य पनि हेर्न सकिन्छ’, संरक्षणकर्मी शंकर लुइँटेलले भने, ‘दुर्लभ वन्यजन्तुदेखि चराचुरुङ्गीसम्मको बासस्थान भएकाले यो क्षेत्र जैविक विविधताले भरिपूर्ण छ।’

'Jungle-stay', a destination to enjoy nature

यहाँको जैविक महत्त्व हालै अझ बढेको छ। चरा खोजकर्ता तथा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन खरेल र संरक्षणकर्मी लुइँटेलले यतै पहिलो पटक दुर्लभ स्तनपायी पहाडी रुख छुचुन्द्रो तथा लोपोन्मुख चरा कैलो लाहाँचे भेट्टाए।

‘पहाडी रुख छुचुन्द्रो नेपालमा भएको भनिए पनि आधिकारिक फोटो–रेकर्ड थिएन,’ खरेल भन्छन्, ‘कैलो लाहाँचे त करिब ४४ वर्षपछि पहिलो पटक रेकर्ड भयो।’

लाहाँचे यसै क्षेत्रमा गुँडसहित भेटिएको थियो। त्यसै गरी पहाडी रुख छुचुन्द्रोको पहिलो सरकारी मान्यताप्राप्त फोटो–दस्तावेज पनि यहीँबाट सार्वजनिक भएको हो। यसले लाङ्केप क्षेत्रलाई जैविक अनुसन्धानका दृष्टिले ‘हटस्पट’ घोषणा गर्नुपर्ने माग बलियो बनाएको रोङ गाउँपालिका–६ का वडा अध्यक्ष सत्यम राई बताउँछन्।

अनुसन्धानकर्ताका अनुसार समुद्री सतहदेखि २५०–८०० मिटर उचाइमा फैलिएको यो वन क्षेत्रमा ३ सयभन्दा बढी प्रजातिका वनस्पति, दुर्लभ पुतली, सरिसृप, पक्षी र स्तनधारी जनावर पाइन्छन्।

जंगल-स्टेसँगै संरक्षण र पर्यटनको सम्भावना

राम्रोसँग संरक्षित प्राकृतिक क्षेत्र र नयाँ–नयाँ वैज्ञानिक खोजका कारण लाङ्केप मेची किनार विश्वको ध्यानाकर्षण गर्ने क्षमता राख्छ। स्थानीय ‘गोल्डेन भ्याली सामुदायिक अध्ययन केन्द्र’का संस्थापक अध्यक्ष कुमार मोक्तान भन्छन्, ‘कैलो लाहाँचे र पहाडी रुख छुचुन्द्रो भेटिनु सामान्य कुरा होइन। यो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्न ढिलाइ हुनु हुँदैन।’

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) पनि मोक्तानको कुरामा सहमत छन्। भन्छन्, ‘जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिका सहयोग गर्न आतुर छ।’

'Jungle-stay', a destination to enjoy nature

लाखमान तामाङले सुरु गरेको जंगल-स्टे एउटा पर्यटन व्यवसाय मात्र होइन, प्रकृतिसँगको सहअस्तित्व, स्थानीय जीविकोपार्जन र जैविक विविधता संरक्षणलाई जोड्ने सेतु हो।

मेची किनारको शान्त जंगलमा टेन्टमा रात काट्ने, दुर्लभ चराचुरुङ्गीको चिरविराहट सुन्ने, नदी किनारमा घुम्ने र जैविक धरोहर नजिकबाट अनुभव गर्नेहरूको लागि जंगल-स्टे नयाँ पर्यटकीय गन्तव्य बनेको गोल्डेन भ्याली सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष वीरसिंह स्याङ्वोले जनाए। उनले भने, ‘यदि तिमी पनि प्रकृतिसँग केही दिन हराउन चाहन्छौ भने लाङ्केपको जंगल-स्टेले तिमीलाई पर्खिरहेको छ है।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully