सहकारीपीडित भन्छन्– ‘सहकारी ठग समात्न जेन-जी सरकार पनि किन डरायो ?’

शनिबार सहारा चितवन र सनराइज बचत तथा ऋण सहकारीका पीडित बचतकर्ता भेला भएका थिए । उनीहरूले सहकारी ठगीको समस्यामा सरकार गम्भीर नबनेको भन्दै आक्रोश पोखेका हुन् ।

मंसिर ७, २०८२

रमेशकुमार पौडेल

Cooperative victim says – ‘Why is the Gen-G government afraid to catch cooperative fraudsters?’

What you should know

चितवन — ६० वर्ष पुगेका टीकाराम कँडेल भरतपुर महानगरपालिका–९ शितलचोक डेरामा बसेर ठेला चलाउँछन् । सिमेन्टका बोरा, रड जस्ता सामान पसलदेखि ग्राहकसम्म पुर्‍याइदिएपछि पाउने ज्यालाले आफू र श्रीमतीको खर्च टार्छन् । शनिबार उनी केही छटपटीमा थिए । फाट्टफुट्ट सामान बोक्ने काम आइरहेको थियो तर साथीहरूले बोलाए बोलाएपछि काम छाडेर पुरानो साइकल समाएर दौडिए ।

ठेला चलाएर कमाएको ज्यालाबाट खर्च बचाएर उनले सहकारीमा बचत राखेका थिए । उनले बचत गर्दै आएको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था करिब तीन वर्षदेखि बन्द छ । ठेला चलाएर दैनिक खर्च जुटाउनेसँगै पसिनाको कमाइ डुबेको चिन्ता छ ।

बचत फिर्ता गराउने योजना बनाउन शनिबार सहारा चितवन र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ता भेला भएका थिए । त्यसैले कँडेल पनि हतारिँदै त्यो छलफलमा आएका थिए । ‘दिनको सय/दुई सय र राम्रो कमाइ भएका दिनमा हजार/१२ सय रुपैयाँ सहकारीमा बचत गरेको थिएँ,’ कँडेलले भने । 

एक दिन उनी बचत झिक्न भन्दै सहारा चितवन सहकारीको भरतपुर ओरालोमा रहेको कार्यालयमा पुगे । त्यहाँ सुरक्षागार्डले भोलि आउन भनेपछि उनी रित्तो फर्के । त्यसपछि पनि उनी पटक पटक गए । एक दिन त गार्डले पनि जागिर छाडेपछि कँडेलले सहकारीको कार्यालय धाउन छाडे । ‘मलाई २०/२५ हजार रुपैयाँको साह्रै खाँचो परेको थियो । खातामा बचत पनि त्यत्ति नै थियो जस्तो लाग्छ । दिनकै कमाउँदै खाँदै गर्नेले धेरै बचत गर्न सक्ने हो र ? जति थियो त्यो पसिनाले भिजेको कमाइ थियो,’ उनले भने, ‘त्यो अब गुम्यो जस्तो लाग्छ ।’ सहारामा ६२ सय जना बचतकर्ताको ५९ करोड रुपैयाँ बचत रकम हिनामिना भएको छ । 

सहारा चितवनको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति तथा पूर्वगृहमन्त्री र २०७९ मा चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रवि लामिछाने पनि अभियुक्त छन् । सहाराका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई मुख्य अभियुक्त भए पनि उनी फरार नै छन् ।

मुख्य अभियुक्त जीबी राईविरुद्ध 'रेडकर्नर नोटिस' पनि जारी भएको छ । ‘बचत फिर्ताको अभियानमा लागेको तीन वर्ष हुँदैछ । न रकम पाइयो न मुख्य अभियुक्त नै समातिए । यसअघि हरेक प्रधानमन्त्री, गृहमन्त्रीदेखि धेरै मन्त्री र नेतालाई गुहार्‍यौं, फरार रहेका जीबी राई समातिएनन्,’ सहारा चितवनका पीडित बचतकर्ताले गठन गरेको संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले भने, ‘यसअघिका तीन प्रधानमन्त्री, चार जना गृहमन्त्रीलाई सुनाउँदा पनि नसमातिएका जीबी राई अब त समातिएलान्‌झैं लागेको थियो ।’ सहकारी ठगीबाट कँडेल जस्ता निम्न वर्गका बचतकर्ता धेरै पीडित भएको उनले बताए ।  

भदौ २४ को जेन–जी आन्दोलनपछि बनेको सरकारले पनि सहकारी पीडितको हितमा बोलेको नसुन्दा निराश हुनु परेको उनले गुनासो गरे । ‘यो सरकारबाट सहकारी पीडितका बारेमा बोलेको सुनेका छैनौं । जबकि अहिलेका प्रधानमन्त्री, मन्त्रीहरु हाम्रो समस्याबारे जानकार छन्,’ दुवाडीले भने । उनले सहकारीबाट ऋण लगेका स्थानीय ऋणी पैसा तिर्न तयार रहेको बताए । ‘यहाँ बजारका ऋणिहरुले हामी तिर्छौं भन्नुभएको छ । तर त्यो ऋण कसले बुझ्ने ? सहकारीका सञ्चालक छैनन् । अफिस छैन । हामीले बुझेर भएन,’ उनले भने ।

अर्का पीडित बचतकर्ता निलकण्ठ तिवारीले सरकारसँग आफूहरुले आफ्नै बचत रकम फिर्ता मागेको बताए । ‘सरकारले अध्यादेश ल्याएर, उनीहरुको सम्पत्ति जफत गरेर हाम्रो बचत फिर्ता गर्नु पर्‍यो । जीबी राई जस्ता फरार पनि नसमात्ने, हाम्रो बचत पनि फिर्ता नगर्ने भए हामीले पनि सोध्नुपर्छ जीबी राईलाई समाउन जेन–जी सरकार पनि किन डरायो ?,’ तिवारीले भने । 

पहिला दलहरुका मान्छे प्रधानमन्त्री, मन्त्री भएका बेला बचत फिर्ता नहुँदा र अभियुक्त समातिन नसक्दा आफूलाई उनीहरु पनि सहकारी ठगसँगै मिलेकोझैं लाग्ने गरेको उनले बताए । ‘अब हाम्रो लागि काम नगर्ने हो भने हामी पनि भन्ने छौं यो सरकार पनि कोबाट सञ्चालित हो,’ तिवारीले प्रश्न गरे । सहारा चितवनकै बचतकर्ता कमलादेवी कँडेलले श्रीमान्‌ले विदेशबाट पठाएको डुबेको बताइन् । ‘देशमा काम पाइएन विदेश जानुभयो । विदेशको कमाइ सहकारीले खायो,’ कमलाले भनिन् । 

सनराइज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता तुलसी सापकोटाले राजनीतिक संरक्षणमा नै आफूहरुलाई पीडित बनाइएको बताए । सनराइजले चितवनका बचतकर्ताको ९० करोड रुपैयाँ बराबर अपचलन गरेको छ । विघटित प्रतिनिधिसभामा राप्रपाकी समानुपातिक सांसद रहेकी बर्दियाकी गीता बस्नेत यो सहकारी मुद्दाको अभियुक्त हुन् । बस्नेतकै ज्वाइँ बर्दियाकै नगेन्द्रबहादुर रिमाल यो सहकारीका अध्यक्ष हुन् । ‘यो सहकारीको मुद्दामा समाएर जेल बसेकाहरुले अहिले तिमीहरुले केही पाउँदैनौं हामी बरु छुट्छौं भन्न थालेका छन् । पीडित उस्तै छन् पीडकको मनोबल बढेको छ,’ सापकोटाले भने ।

चितवनमा सहारा, सनराइज र शिवशिखर जस्ता सहकारी ठगी मुद्दाका मिसिल रहेको जिल्ला अदालतमा भदौ २४ मा प्रदर्शनकारीले आगजनी गरेर ध्वस्त बनाइएको छ । ‘पीडकहरुले जेन–जीको बहानामा अदालत टार्गेट गरेर फाइल ध्वस्त बनाए । तर प्रमाण र कागजपत्र हामीसँग पनि थिए । आगो लगाउँदैमा सबै सकिँदैन थियो । अब पनि हामी हार मान्नेवाला छैनौं । लड्छौं,’ दुवाडीले भने । उनले फागुन २१ मा चुनाव गराउने जिम्मेवारी लिएको सरकारले देशभरका ७४ लाख सहकारी पीडितका बारेमा पनि सोच्नुपर्ने बताए । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully