उचित सिँचाइ, मल व्यवस्थापन र रोग नियन्त्रणबारे नियमित परामर्श पाएपछि उत्पादन बढेको अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगरको भनाइ ।
What you should know
डडेल्धुरा — १८ वर्ष नेपाली सेनामा सेवा गरेर अवकाश लिएका अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पछिल्ला वर्ष कृषि व्यवसायमा रमाउन थालेका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीलाई आधुनिक तरिका र प्राविधिक सहयोग जोड्दै उनले एउटा सफल कृषकको पहिचान बनाएका हुन् ।
व्यक्तिगत मिहिनेतले यसपालि उनले एकै सिजनमा डेढ लाख रुपैयाँको हरियो सिम्ला अर्थात् क्याप्सिकम बिक्री गर्न सफल भएको बताए ।
मगरले चारवटा प्लास्टिक टनेलमा करिब ६ हजार रुपैयाँ बराबरका सिम्लाका बिरुवा रोपेर खेती गरेका हुन् । टनेल निर्माणदेखि सुरु भएको उनको लगानीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्र डडेल्धुराले सहयोग उपलब्ध गराएका थिए । उचित सिँचाइ, मल व्यवस्थापन र रोग नियन्त्रणबारे नियमित परामर्श पाएपछि उत्पादन बढेको मगरको भनाइ छ ।
उनले सञ्चालन गरेका चारवटै टनेलमा उत्पादन राम्रो भएको छ । करिब १२ क्विन्टल हरियो सिम्ला फलाएपछि उनले अधिकांश उत्पादन नजिकैको सदरमुकाम बजारमै बिक्री गरे । ‘सिम्लाको माग राम्रो रहेकाले बजारको अभाव भएन,’ उनले भने ।
पछिल्लो समय डडेल्धुरा लगायत पहाडी क्षेत्रमा प्लास्टिक टनेलमा बेमौसमी तरकारी उत्पादन गर्ने किसानको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पहाडी क्षेत्रमा बढी लाभ लिन सकिने खेती भएकाले सिम्ला, टमाटर, काँक्रो, आलु लगायतका तरकारीप्रति कृषक आकर्षित भइरहेका छन् ।
कृषि क्षेत्र अझ विस्तार गर्ने योजनामा रहेको अवकाशप्राप्त मगरले बताए । ‘यसपालिको नतिजाले हौसला मिलेको छ,’ उनले भने, ‘योजनाबद्ध रूपमा काम गर्न सके पहाडी क्षेत्रमा पनि व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।’
