१४ वर्षअघि ठेक्का भएका दुई ठूला पुल, एउटामा काम हुँदै, अर्कोको ठेक्का तोडिँदै

सिरहा र धनुषा जोड्ने कमला पुलको काम धीमा गतिमा, झापाको कन्काई पुलको प्रगति ५६ प्रतिशत मात्र, काम नभएपछि ठेक्का तोड्ने आयोजना कार्यालयको तयारी

मंसिर ५, २०८२

विमल खतिवडा

Two major bridges contracted 14 years ago, work on one underway, contract for the other being terminated

What you should know

काठमाडौँ — हुलाकी राजमार्गअन्तर्गत १४ वर्षअघि ठेक्का भएका दुई ठूला पक्की पुलको निर्माण अझै सकिएको छैन । झापाको कन्काई पुलको ठेक्का सम्झौता १४ वर्षअघि अर्थात् २९ जेठ २०६८ मा भएको थियो । यस पुलको प्रगति अहिलेसम्म ५६ प्रतिशत मात्र छ । पुलको ठेक्का पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाख रुपैयाँमा लिएका हुन् ।

महादेव खिम्ती नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो । पहिला ७ सय २५ मिटर लामो यो पुलको काम सुरुमा पप्पु कन्स्ट्रक्सनले गरेको थियो । उक्त कम्पनीका मुख्य व्यक्ति हुन्, पूर्वसांसद हरिनारायण रौनियार । पुल र सडकको ठेक्का लिएर समयमै काम नसकेपछि यस कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । उसले नयाँ ठेक्का लिन पाउँदैन । यही कम्पनीले जेभीमा लिएको अर्को ठेक्का हो, बलान–कमला सडकअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदी पुल ।

यसको ठेक्का सम्झौता ३१ जेठ २०६८ मा भएको हो । सुरु सम्झौताअनुसार ३० मंसिर २०७१ मा काम सकिसक्नुपर्ने हो । ३० चैत २०८२ सम्म काम सक्ने गरी समयसीमा तोकिएको छ । उक्त समयभित्र काम नसकिए ठेक्का तोडिने सडक विभागले जनाएको छ । अहिलेसम्म निर्माण प्रगति भने ८३ प्रतिशत मात्र छ । यसको ठेक्का रकम २४ करोड ९० लाख रुपैयाँ छ । अहिलेसम्म २० करोड ४२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । ठेक्का डिजाइन एन्ड बिल्डअन्तर्गत भएकाले ठेक्का लिने कम्पनीले नै डिजाइन गरेर यसको निर्माण गर्नुपर्छ । ठेक्का लिने कम्पनी पप्पु–लुम्बिनी जेभी हो ।

पुलको निर्माण सकिएर हस्तान्तरण गर्ने बेला १७ असार २०७८ मा आएको बाढीले पुलको दुई जग भासिएको थियो । त्यस्तै ४ वटा स्ल्याबमा क्षति भएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक, निर्माण व्यवसायी र विज्ञसँगको उपस्थितिमा छलफल भई पुल पुनर्निर्माणका लागि डिजाइन र ड्रइङ स्वीकृत गराई निर्माणको काम अघि बढाइएको हो । त्यसो त निर्माण अघि बढाउन हुलाकी निर्देशनालयले व्यवसायीलाई पटक–पटक पत्राचार र ताकेता गरेको थियो । १२ वटा स्पान रहेको पुलको लम्बाइ ४ सय ९६.२ मिटर छ ।

निर्माण सकिसकेको पुलमा २०७८ सालमा आएको बाढीका कारण ठूलो क्षति पुगेकाले समस्या भएको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुवेर नेपालीले बताए । ‘एउटा निश्चित अवधिका लागि पुलको डिजाइन गरिएको हुन्छ, सबै बाढीपहिरो धान्न सक्ने डिजाइन गर्न भने सकिन्न,’ नेपालीले भने, ‘बाढीले क्षति गरेपछि फेरि बनाउने निर्माण व्यवसायीको दायित्व थियो । त्यहीअनुसार अहिले निर्माणको काम भइरहेको छ ।’

क्षतिपछि निर्माण व्यवसायीले बिमा दाबी गरे पनि नपाएको नेपालीको भनाइ छ । ‘व्यवसायीले कामको जिम्मेवारी लिँदै मुद्दा लड्दै गरौंला । तर आफ्नै लगानीमा गर्छौं भनेर पुलको काम गरिरहेका छन्,’ उनले भने, ‘वैशाखसम्म मुख्य काम सक्ने योजना छ ।’ यसमा कार्यालयले निगरानीको काम गरिरहेको नेपालीले सुनाए । ‘यो रुग्ण ठेक्का भए पनि तोड्ने सूचीमा थिएन,’ उनले भने, ‘यो हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने दुई लेनको मुख्य पुल नै हो ।’

आफ्नै पैसामा पुलको काम गरिरहेको लुम्बिनी बिल्डर्सका प्रमुख कार्यकारी अधिकृत नवराज ज्ञवालीको दाबी छ । ‘बाढीले समस्या गर्‍यो, नेको इस्योरेन्समार्फत बिमा गरेका थियौं, उसले क्षतिको मूल्यांकन गरेको मिलेन, १ करोड ९३ लाख रुपैयाँ मात्र दिन्छौं भनेपछि बिमा प्राधिकरणले पनि यसमा राम्रो सुनुवाइ गरिदिएन, अहिले उच्च अदालत पाटनमा मुद्दा हालेका छौं ।’ नेको इस्योरेन्सविरुद्ध उच्च अदालतमा दुई वर्षअघि मुद्दा दायर गरेको ज्ञवालीको भनाइ छ ।

‘सुरुमा पप्पुले पुलमा फाउन्डेसनको काम गरेर छाडेको थियो । त्यसपछि सबै काम हामीले गर्‍यौं, हस्तान्तरण गर्न ठिक्क पारेको पुल २०७८ मा आएको बाढीको बगायो,’ ज्ञवालीले भने, ‘अहिले आफ्नै पैसाले काम गरिरहेका छौं ।’ क्षतिपूर्तिबापत १० करोड ३४ लाख रुपैयाँ बिमा दाबी गरिएको उनले जनाए । ‘अहिले पुलमा स्टिल ट्रस र बाँकी संरचनाको काम हुँदै छ,’ ज्ञवालीले भने, ‘खोलो सिरहा र धनुषा दुवैतर्फबाट बगेकाले समस्या भएको हो ।’ सडक विभागले भने असार २०८३ सम्म पुलबाट यातायात सञ्चालन हुने दाबी गरेको छ । निर्माण सकिएको मितिले ५ वर्षसम्म ठेक्का लिने कम्पनीले नै यसको मर्मत सम्भार गर्नुपर्नेछ ।

हुलाकी राजमार्गको रेखांकनभित्र रहेको कमला नदीको बहाव क्षेत्र करिब १ हजार ८ सय मिटरमा फैलिएको र सोहीअनुसार तटबन्ध निर्माण भएको सडक विभागले बताएको छ । दुई वटा तटबन्धको बीचमा निर्माण भएको उक्त पुलबाट बर्खामा पानी बगाउन ठूलो चुनौती रहेकाले खोलालाई नियन्त्रित र व्यवस्थित गर्न नदी नियन्त्रण आवश्यक रहेको सडक विभागको भनाइ छ । त्यसका लागि काम गरिँदै छ ।

समयमै पुल नबन्दा सिरहा र धनुषाका स्थानीयलाई बर्खायाममा खोलो वारपार गर्न समस्या हुने गरेको छ । स्थानीयले पुल निर्माणको काम छिटो सक्न दबाब दिँदै आएका छन् । झापाको कन्काई पुल नबन्दा त्यस क्षेत्रका स्थानीयले पनि दैनिक जीवनयापनमा सास्ती खेप्दै आएका छन् । लामो समयसम्म पनि उक्त पुल निर्माणमा प्रगति नभएपछि गत ३१ असोजमा हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले ठेक्का किन नतोड्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

‘कन्काई पुलको ठेक्का तोड्नुको विकल्प छैन, सूचना निकालेको १५ दिन सकिसकेको छ,’ हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक नेपालीले भने, ‘निर्माण सुरु भइसक्दा पनि फिल्डमा निर्माण व्यवसायीले काम गरेको देखिँदैन, त्यसैले ठेक्का तोडिन्छ ।’ अहिलेसम्म २ सय २९ वटा रुग्ण सडक र पुलका ठेक्का किन नतोड्ने भन्दै सूचना निकालिएको विभागको भनाइ छ । उक्त ठेक्काहरूबारे बुझ्ने काम भइरहेको र काममा प्रगति नहुने ठेक्का तोडिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।

यसैबीच अनुगमनका लागि शुक्रबार कमला पुल पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणको काम छिटो सक्न व्यवसायी र आयोजना प्रमुखलाई निर्देशन दिएका छन् ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully