घर-घरमा आक्रमण भएपछि निजी क्षेत्रको आत्मविश्वास घट्यो : उपाध्यक्ष श्रेष्ठ

नेपालीले लगानी गर्न नसक्ने क्षेत्रमा मात्रै विदेशी लगानी भित्र्याउनुपर्ने उनको भनाइ छ।

मंसिर ५, २०८२

कान्तिपुर संवाददाता

Confidence in private sector has decreased after house-to-house attacks: Vice President Shrestha

What you should know

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले ‘जेनजी’ प्रदर्शनपछि निजी क्षेत्रले आफ्नो ‘आत्मविश्वास’ गुमाएको बताएका छन्।

समृद्धि फाउन्डेसनको ‘एकसाथ निर्माण: निजी क्षेत्रले नेपालको अर्को अध्यायलाई कसरी हेर्छ?’ भन्ने संवाद–समृद्धि शृङ्खलामा उनले यस्तो बताएका हुन्। ‘विभिन्न आन्दोलनका क्रममा निजी क्षेत्रलाई असर पर्थ्यो, क्षति हुन्थ्यो, तर त्यो त्यही ठाउँमा सीमित हुन्थ्यो,’ श्रेष्ठले भने, ‘तर जेनजी प्रदर्शनका क्रममा व्यक्तिको घर–घरमै पुगेर तोडफोड गरियो।’

सबैभन्दा सुरक्षित मानिने घरमै आक्रमण भएपछि निजी क्षेत्रको आत्मविश्वास गुमेको उनले बताए। ‘जेनजी प्रदर्शन दुई दिन भयो, तेस्रो–चौथो दिन केही नभएजस्तो देखिनु निजी क्षेत्रकै कारण हो,’ उनले भने, ‘जेनजी प्रदर्शनका क्रममा क्षति हुँदा पनि भाटभटेनीका मीनबहादुर गुरूङले “खरानीबाट उठ्छु” भन्नुभएको छ। यसबाट भाग्ने ठाउँ छैन, यहीँबाट अघि बढ्नुपर्छ भन्ने उहाँको धारणा छ।’

प्रदर्शनका क्रममा सरकारी संरचनामा बढी क्षति पुगे पनि सरकारी प्रणाली चलायमान हुन समय लागेको उनले उल्लेख गरे। तर निजी क्षेत्र भने दुई–तीन दिनमै उठेर सफासुग्घर गरी अघि बढिसकेको उनले बताए । निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र मूल्यांकन गर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने उनको जोड थियो।

आर्थिक चलायमानता कमजोर हुँदा रोजगारी सिर्जना हुन नसकेको उनले बताए। २०४८ पछि मुलुक खुला अर्थतन्त्रतर्फ उन्मुख भए पनि त्यअनुसार आर्थिक वृद्धि हुन नसकेको उनको भनाइ छ। खुला अर्थतन्त्रको जगले नै मुलुक आजको अवस्थामा पुगेको पनि उनले उल्लेख गरे।

Confidence in private sector has decreased after house-to-house attacks: Vice President Shrestha

आवश्यकताभन्दा बढी अनुदान र सामाजिक सुरक्षा भत्ता दिँदा अर्थतन्त्रमा पर्ने असरबारे सरकार बेफिक्री भएको उनको टिप्पणी थियो। ‘सरकारले उद्योग–कलकारखाना चलाउने होइन, निजी क्षेत्रले चलाउने हो,’ उनले भने, ‘सरकारले नियमन र सहजीकरण मात्रै गर्नुपर्छ।’

हरेक कर्मचारीतन्त्रमा संस्थागत स्मृति हुनुपर्छ भन्ने उनको धारणा छ‘नेपाल–भारत सीमासम्बन्धी बैठक हुँदा भारतका कर्मचारीलाई विगतका बैठकका निर्णयसम्म थाहा हुन्छ,’ उनले भने, ‘तर नेपालका कर्मचारीलाई थाहा हुँदैन, क्योंकि नयाँ–नयाँ आउनेहरूलाई विगतबारे जानकारी हुँदैन।’

सहीलाई सही र गलतलाई गलत भन्ने संस्कार विकास गर्नुपर्ने उनले औंल्याए। ‘निजी क्षेत्रकै भित्र कसैले गलत गर्छ भने पनि अहिले बेवास्ता गरिन्छ,’ उनले भने, ‘अब भने हामीले सहीलाई सही र गलतलाई गलत भन्न सिक्नुपर्छ।’

नेपालीले लगानी गर्न नसक्ने क्षेत्रमा मात्रै विदेशी लगानी भित्र्याउनुपर्ने उनको भनाइ छ। प्रविधि र पूँजी कम भएको भन्दै जुनसुकै क्षेत्रमा विदेशी लगानी ल्याउनु नहुने उनले बताए। मुलुकमा रहेका उद्योगलाई संरक्षण दिँदै प्रविधि र लगानी भित्र्याउनु पर्ने उनको टिप्पणी थियो।

कान्तिपुर

Link copied successfully