वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १७१ संस्था छनोट

स्वास्थ्य परीक्षणलाई गुणस्तर, व्यवस्थित र पारदर्शी बनाउन भन्दै मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिको मापदण्ड पूरा गर्ने १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको शुक्रबार जारी सूचनामा उल्लेख छ ।

मंसिर ५, २०८२

होम कार्की

171 organizations selected to conduct health screening of workers going for foreign employment

What you should know

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण (छनोट) गरेको छ ।

स्वास्थ्य परीक्षणलाई गुणस्तर, व्यवस्थित र पारदर्शी बनाउन भन्दै मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिको मापदण्ड पूरा गर्ने १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको शुक्रबार जारी सूचनामा उल्लेख छ । यो मापदण्ड पूरा नगरेका २९ वटा स्वास्थ्य संस्थालाई मन्त्रालयले सूचीकरणबाट हटाएको छ । 

अब सूचीकरण गरिएका स्वास्थ्य संस्थाले मात्रै वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाइनेछ । विशेषज्ञ समितिबाट अनुगमन प्रतिवेदन अध्ययन भई सूचीकरणको लागि सिफारिस भएका स्वास्थ्य संस्थाहरुलाई सूचीकरण गर्ने प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरबाट कात्तिक ३० गते निर्णय भएको हो ।

स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव दीपेन्द्ररमण सिंह नेतृत्वको ३० सदस्यीय उच्चस्तरीय कार्यदलले पेस गरेको प्रतिवेदनको आधारमा मन्त्रालयले स्वास्थ्य परीक्षणका सामग्री थप, ल्याबको सुधार र स्वास्थ्य परीक्षणको दायरा विस्तार गरेर ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि–२०७२ लाई संशोधन गरिएको हो । त्यस कार्यविधिले निर्धारण गरेको मापदण्डअनुसार अनुगमन टोलीले गत असार २६ देखि असोज ३१ सम्म राजधानी र बाहिर रहेका दुई सय स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो ।

श्रम प्रवक्ता पिताम्बर घिमिरले सूचीकृत स्वास्थ्य संस्था, चिकित्सक र श्रमिकलाई जिम्मेवार बनाइएको बताए । ‘यसले गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चितता गर्नेछ । मेडिकल फिटसम्बन्धी रिपोर्ट दिने गलत अभ्यास अन्त्य हुनेछ,’ प्रवक्ता घिमिरेले भने,‘मन्त्रालयले यसको प्रभावकारी रुपमा अनुगमन गर्नेछ ।’

सूचीकरण भएका स्वास्थ्य संस्थाहरुले अब श्रमिकको थप परीक्षण गर्नुपर्नेछ । प्रमुख परीक्षणहरूमा रक्त परीक्षण (सीबीसी, ईएसआर, प्लेटलेट), क्षयरोग परीक्षण (छातीको एक्स-रे, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी), मिर्गौलाको कार्य परीक्षण (सिरम युरिया, क्रियाटिनिन), हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइडलगायत रहेका छन् ।

मन्त्रालयले कामदारको उमेर र पेसाअनुसार जोखिम समूह छुट्याएर पेसागत रोग (श्वासप्रश्वासको समस्या, छालाका रोग, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोगजस्ता अवस्था)को आवश्यक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।

श्रम मन्त्रालयका अनुसार प्रमुख गन्तव्य देश मलेसिया, कतार, साउदी अरेबिया, यूएई र युरोपेली देशहरूले राखेको मापदण्डअनुसार स्वास्थ्य जाँचमा वृद्धि गरिएको जनाइएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकमध्ये हरेक वर्ष करिब एक हजार जनाको मृत्यु हुने गरेको छ । वैदेशिक रोजगार बोर्डको अभिलेखअनुसार सबैभन्दा बढी हृदयघातबाट १९, प्राकृतिक कारणबाट १९.५, कार्यस्थल दुर्घटनाबाट ७, सडक दुर्घटनामा १२.७, आत्महत्याबाट ११ प्रतिशत र बाँकी ३०.८ प्रतिशतको अन्य कारणले मृत्यु भएको हो । अधिकांश प्रमाणपत्रमा ‘नेचुरल, सडेन डेथ, हार्ट अट्याक, अननेचुरल’ जस्ता शब्द लेखिएका हुन्छन् । गन्तव्य देशले कार्यस्थल र सवारी दुर्घटनाको मात्रै जिम्मेवारी लिँदै आएका छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully