बिहीबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ३८ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
काठमाडौँ — नेप्सेको ओरालो लाग्ने क्रम साताको अन्तिम कारोबार दिन पनि रोकिएन । बुधबारको तुलनामा बिहीबार ०.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय ६०.२९ विन्दुमा ओर्लेको छ ।
अघिल्लो दिनको तुलनामा यो ०.०३ प्रतिशतले घटेको हो । गत आइतबार नेप्से घटे पनि सोमबार र मंगलबार औसतमा दोहोरो अंकले बढेको थियो भने बुधबार घट्यो ।
बिहीबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ३८ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो । यसदिन सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से घटेको हो ।
सो दिन कुल ६६ हजार ७९ पटकको सेयर कारोबारमा १ करोड ४ लाख ४९ हजार २ सय ९६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार सेयर बजारमा ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
