कुल वैदेशिक रोजगारीमा कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकामध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

Karnali Province's share in total foreign employment is 3.78 percent

What you should know

काठमाडौँ — नेपालको कुल वैदेशिक रोजगारीमा कर्णाली प्रदेशको हिस्सा करिब ४ प्रतिशत मात्र छ । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकामध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

‘यस प्रदेशमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरु मध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिने गरेका छन् । केही वैदेशिक रोजगारीबाट सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहेको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले वर्षेनि भरपर्दो आयआर्जनको खोजीको शिलशिलामा विदेशिने नेपालीहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।’

गत आर्थिक वर्षमा कर्णाली प्रदेशबाट २० हजार ८ सय ८६ जनाले नयाँ श्रम स्वीकृत र २८ हजार ५८ जनाले पुनः श्रम स्वीकृत लिएका छन् । अघिल्लो वर्षको तुलनामा नयाँ श्रम स्वीकृति १६.०६ प्रतिशत र पुन श्रम स्वीकृति ११.८७ प्रतिशतले बढि हो ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को प्रतिवेदन अनुसार कर्णाली प्रदेशको गरिबीको दर २६.६९ प्रतिशत रहेको छ । नेपाल श्रमशक्ति सर्वेक्षण २०७५/०७६ को प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा बेरोजगारी दर ९.७ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णाली प्रदेशमा आर्थिक रुपले सक्रिय (उमेर १० वर्ष वा सो भन्दा माथि) जनसङ्ख्या ७१.६५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कर्णाली प्रदेशमा ७ हजार १ सय ५६ जनाले रोजगारी प्राप्त गरेका छन् । रोजगारीमा खटिएकामध्ये सबैभन्दा बढी कालिकोटमा १ हजार २ सय २७ जनाले रोजगारी प्राप्त गरेका छन् भने सबैभन्दा कम मुगुमा ४ सय ७३ जनाले रोजगारी प्राप्त गरेका छन् । उक्त वर्षमा यस प्रदेशमा सूचीकृत बेरोजगार व्यक्तिको संख्या २ लाख ८ हजार ३ सय ५३ रहेका छन् । कुल आयोजना संख्या ९ सय ५० रहेको प्रतिवेदनमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully