बैठकले ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको बोर्डले जनाएको छ।
काठमाडौँ — ४ सय ३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी बोर्डले ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डको ६७ औं बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकले आर्थिक वर्ष २०८१/८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै २०८२/८३ को वार्षिक कार्ययोजनासमेत स्वीकृत गरेको छ ।
बैठकले ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले ९ सय मेगावाटको अरुण–३ जलविद्युत् परियोजनाको ‘डाइरेक्ट एग्रिमेन्ट’ को मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने र ८ सय मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्रको म्याद थप्ने निर्णयसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आह्वान नगरिएको प्रस्तावका रूपमा पेस भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्यो,’ विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललगायत सहभागी थिए ।
