‘उत्पादनलाई प्रतिस्पर्धी बनाउन कर प्रणालीमा सुधार’

विद्यमान कर प्रणालीमा सुधार, अनलाइनमार्फत भुक्तानी व्यवस्था, एकल बिन्दुको व्यवस्थालगायत काम गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

'Improving the tax system to make products competitive'

What you should know

काठमाडौँ — नेपालमा डुइङ बिजनेस लागत कम गर्न र उत्पादनलाई प्रतिस्पर्धी बनाउन विद्यमान कर प्रणालीमा सुधार अत्यावश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । नेपाल उद्योग परिसंघले बुधबार आयोजना गरेको ‘कर प्रणाली सुधार केन्द्रित आर्थिक रूपान्तरणको मार्गचित्र’ विषयक अन्तरक्रियामा विज्ञले कर प्रणालीमा सुधार, अनलाइनमार्फत भुक्तानी, एकल बिन्दुको व्यवस्थालगायत काम गर्नुपर्नेमा जोड दिए । 

कर प्रणालीमा धेरै सुधार गर्नुपर्ने भएको अर्थमन्त्री रामेश्वर खनालको भनाइ छ । अहिलेको अन्तरिम सरकार भएकाले धेरै कानुन परिवर्तन गर्न नसकिने उनले जनाए । निजी क्षेत्रले राजस्वमा गरेको योगदानकै कारण दक्षिण एसियाली मुलुकमा नेपाल निरन्तर जीडीपीको अनुपातमा धेरै राजस्व भएको मुलुक बनेको उनले बताए । ‘विगतमा यस्तो अनुपात जीडीपीको २४.५ प्रतिशतसम्म पुगेको थियो । कोभिडपछि घटेर १८ प्रतिशतमा झरेको छ । यस वर्ष यस्तो अनुपात बढ्ने संकेत देखिएको छ,’ उनले भने । 

गएको ६० दिनमा अलिकति द्रुत गतिमै काम गरिएछ कि भन्ने लागेको अर्थमन्त्री खनालको दाबी छ । ‘कतिपय काम समाजले बुझ्नुभन्दा अघि नै गरेकाले त्यसमा आवाज उठिरहेका छन् कि भन्ने पनि लागिरहेको छ,’ उनले भने, ‘विभिन्न मुलुकसँग भएको दोहोरो कर मुक्ति सम्झौतामा रहेका नेपाललाई हानि गर्ने प्रावधान संशोधन गर्नुपर्ने थियो, त्यो काम भइसकेको छ ।’

सोही क्रममा विभिन्न ७ राष्ट्रसँग भएको सम्झौताका केही बुँदा आयकर ऐन, २०५८ को व्यवस्थाभन्दा फरक भएकाले अब आयकर ऐनअनुसार नै कर लाग्छ भनेर सूचना पठाइसकिएको उनले बताए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सुधारका लागि सरकारले धेरै प्रयास गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको भनाइ छ ।

‘बैंकहरूमा लगानीयोग्य रकम छ, ब्याजदर एकल बिन्दुमा छ, समग्र बजार माग बढ्न सकेको छैन । माग बढ्न नसक्दा पनि उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका छन्,’ पाण्डेले भने, ‘मूल्य वृद्धि न्यून बिन्दुमा छ । पैसा त्यत्तिकै बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो संकेत होइन ।’ त्यसको असर सरकारको राजस्वमा समेत पर्दै आएको उनले जनाए । 

कान्तिपुर

Link copied successfully