चितवन र तनहुँका सात सय महिलाको साझेदारीमा बेसार उद्यम

बेसार रोप्ने, प्रशोधन गर्ने, कुटेर बनाएको धुलोलाई प्याकेजिङ गर्नेदेखि बजार लगेर बेच्ने कामसम्म महिलाहरु जुटेर गरिरहेका छन् ।

मंसिर ३, २०८२

रमेशकुमार पौडेल

Turmeric enterprise in partnership with 700 women from Chitwan and Tanahun

What you should know

चितवन — महिलाहरु संलग्न सहकारीले बेसार खेतीसँगै प्रशोधन उद्योग खोलेर चितवनमा आफ्ना सात सय सदस्यलाई उद्यममा जोडेको छ ।

बेसार रोप्ने, प्रशोधन गर्ने, कुटेर बनाएको धुलोलाई प्याकेजिङ गर्नेदेखि बजार लगेर बेच्ने कामसम्म उनीहरु जुटेका हुन्छन् ।

आइतबार दिउँसो भरतपुर महानगरपालिका–२९ भतेरी जुगेडीको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिलाहरु रत्ननगरको बकुल्लहर चोकमा भेला भएका थिए । उनीहरुको हातमा आधा किलो तौलको बेसारको प्याकेट थियो । उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट, खाजाघर र सपिङ मलमा उनीहरुले  बेसारको कथा सुनाउँदै किन्न अपिल गरे । धेरैले खरिद पनि गरे । 

भरतपुर–२९ खोलाघारीकी लक्ष्मी लामा पनि बेसार बेच्दै त्यहाँ पुगेकी थिइन् । उनी सफल सहकारीको बजार समितिकी सदस्य हुन् । उनी आफैले पनि गाउँमा बेसार खेती गरेकी छन् । ‘पोहर तीन कट्ठामा लगाएको बेसार पाँच क्विन्टल बेच्न पाउँदा १३ हजार रुपैयाँ आम्दानी भयो,’ लक्ष्मीले भनिन् ।

यो आम्दानी सामान्य भए पनि बाँदरले खेती खाइदिएर उनले जग्गा बाँझै राख्नुपर्ने बाध्यता हटेको छ । ‘हामीले पहिला यहाँ सिमीलगायतका तरकारी लगाउँथ्यौं । तर बाँदरले खाएर खेती बिथोलिदिन्थ्यो । बाँदरले गरी खान नदिएपछि खेती लगाउनै छाडेका थियौं । यहाँ  धेरैको जग्गा बाँझै थियो,’ लक्ष्मीले भनिन् । बेसारलाई बाँदरले पनि केही नगर्ने सुनेपछि उनले खेती सुरु गरिन् ।  

अघिल्लो वर्षभन्दा उन्नत बीउ र तालिम पनि पाएका कारण यो वर्ष बोट राम्रो हुर्किएका छन् । ‘यो पटक तालिम लिएपछि मल, बीउ राख्ने तरिका जान्यौं । खेती राम्रो छ । अब फागुनमा खन्ने बेला पक्कै धेरै फल्ला भन्ने आशा छ,’ लक्ष्मीले भनिन् । जुगेडीभन्दा उत्तरमा रहेको त्रिशूली नदीपारिको तनहुँको देवघाट गाउँपालिका–५ बसन्तपुरमा पनि बेसार खेती बिस्तार गरिएको छ ।  

Turmeric enterprise in partnership with 700 women from Chitwan and Tanahun

देवघाट वसन्तपुरकी ठाकुरकुमारी काफ्लेले यो पटक सात कट्ठामा बेसार लगाएकी छन् । ‘छेउमै वन छ । यहाँका बाँदर, बँदेल, दुम्सी र मृग आएर अरु जे खेती लगाए पनि खत्तम बनाउँथ्यो । बेसार त लगाएपछि यी जनावरले नखाने रहेछन्,’ ठाकुरकुमारीले भनिन् । त्यसैले वसन्तपुर टोलभरी अहिले बेसार खेती फष्टाएको छ । टोलभरी यो वर्ष २९ कट्ठामा बेसार खेती गरिएको उनले सुनाइन् । 

बेसार खेतीमा महिलालाई अभिप्रेरित गर्न महिला समूह समन्वय समितिले गाउँमा पुगेका महिलालाई समेटेर सहकारी गठन गर्दै आएको छ । महिला समूह समन्वय समितिले सफलसहित चितवनका चार र तनहुँ देवघाटका एक महिला सहकारीलाई बेसार खेतीमा आवद्ध गरेको हो । जसमा सहरी क्षेत्रभन्दा पनि पहाडी र ग्रामीण भेगका महिला छन् ।

भरतपुर महानगरपालिकामा परे पनि भतेरी गाउँ चितवनको पहाडी भेग हो । त्यसैगरी कालिका नगरपालिका–१० र ११ का महिला समेटिएको तीन दोभान सामाजिक उद्यमी महिला सहकारी संस्थाले पनि बेसोर खेतीमा लाग्न आफ्ना सदस्यलाई उत्प्रेरित गरेको छ ।

कालिका नगरपालिका–१० र ११ मा चितवनको पहाडी भेग सिद्धि समेटिएको छ । सिद्धिमा चितवनका आदिवासी चेपाङ समुदायको बसोबास छ । कालिका–८ को लगनशील र अर्को पहाडी गाउँ इच्छाकामना गाउँपालिका–६ को चण्डीभञ्ज्याङ्ग सहकारीका महिलाले पनि बेसार खेती गरेका छन् । ठाकुरकुमारी तनहुँ देवघाट–५ को चक्रवर्ती सहकारीमा आवद्ध छिन् । ‘चितवनका चार र तनहुँका एक गरी महिलाले संचालन गरेका पाँच सहकारीमा आवद्ध ७ सय १४ जना अहिले बेसार खेतीमा आवद्ध हुनुहुन्छ,’ महिला समूह समन्वय समितिकी संयोजक सीता पौडेलले भनिन् । किसानले न्यूनतम तीन कट्ठादेखि बढीमा ६ कट्ठासम्म बेसार खेती गरेका छन् । कतै समूह बनाएर १८ कट्ठासम्म बेसार लगाएका छन् ।

सबैतिर गरेर करिब २५ विघा क्षेत्रफलमा बेसार खेती गरिएको छ । सफल सहकारीले भतेरीमा बेसार प्रशोधन गर्ने उद्योग राखेको छ । किसानबाट काँचो बेसार प्रतिकिलो ३५ रुपैयाँमा खरिद हुन्छ । ‘त्यसपछि धुने, चाना बनाउने, सुकाउने, पिस्ने र प्याकेजिङ गर्ने काम यही हुन्छ,’ सफल सहकारीकी व्यवस्थपक विमला तमाङले भनिन् । यहाँबाट ‘चन्द्र सूर्य’ ब्राण्डमा बेसार उत्पादन हुने गरेको छ । 

सहयोगी संस्था ‘हेफर’ले अनुदान दिएपछि सफलले गत वर्ष बेसार उद्योग सुरु गरेको हो । ‘यहाँबाट उत्पादित बेसार चितवनभित्र मात्रै नभएर पोखरा, काठमाडौंसम्म जान्छ । मान्छेले एक पटक किने पछि दोहर्‍याएर यही बेसार किनेका छन्,’ सफल सहकारीको सञ्चालक सदस्य दिलकुमारी गुरुङले भनिन्, ‘हामीले गोठेमल गड्यौला, मल राखेर प्राङ्गारिक तरिकाले फलाउँछौं ।’

Turmeric enterprise in partnership with 700 women from Chitwan and Tanahun

सफल सहकारीले गत वर्ष १४ लाख ६८ हजार ४२५ रुपैयाँको बेसार खरिद गरेको थियो । गत असारसम्म १९ लाख ९९ हजार ३ सय रुपैयाँको बेसार बिक्री भइसकेको सहकारीकी लेखापाल पूजा तमाङले बताइन् । 
सफलले दुई सय ग्राम र पाँच सय ग्राम तौलको प्याकेटमा बेसार राखेर उत्फादन र बिक्री गर्दै आएको छ ।

किसानले बेसार खेती गरेर बित्री गर्दा आधा रकम बचत हुने गरेको भरतपुर–२९ खोलाघारीकी लक्ष्मी लामाले बताइन् । उनले गतवर्ष खेतमा रोपेको काँचो बेसार बेचेर १३ हजार रुपैयाँ कमाउँदा बेसार खेतीमा आधा खर्च भएको थियो । अब अनुभवसँगै खर्च कटौती हुने उनको अपेक्षा छ ।

बेसार खेतीबारे किसानलाई सहयोग गर्न सहकारीले खटाएका कृषि प्राविधिक लिलामान प्रजा चेपाङ पहाडी भेगमा फागुन/चैत्र र तराइमा जेठमा बेसार रोप्न उपयुक्त हुन्छ । लगाएको सातदेखि नौ महिनामा बेसार तयार हुन्छ । ‘अहिलेसम्म घरका लागि दुई/चार किलो लगाएर निर्बाह गरेका महिला तीन कट्ठामा लगाएर व्यवसायिक हुँदैछन् । सिक्दै राम्रो गर्दैछन्,’ लिलाले भने । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully