धान खरिदको कोटा सकिएपछि किसान आक्रोशित

कोटा सकिएको भन्दै खाद्यले धान खरिद रोक्यो ।

मंसिर ३, २०८२

भवानी भट्ट

Farmers angry after rice purchase quota runs out

What you should know

कञ्चनपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगरस्थित कार्यालयले धान खरिद रोकेपछि किसानहरू आक्रोशित बनेका छन् । बुधबार किसानहरूले खाद्यको कार्यालय पुगेर धान खरिद गर्न माग गरेका छन् ।

‘पहिले टोकन वितरण गरेर धान खरिद गर्ने भन्यो, अहिले कोटा पूरा भयो भनेर बन्द गरेको छ,’ बेदकोट नगरपालिका–७ सुडाका किसान ईश्वरीदत्त भट्टले भने, ‘काँटा लागेकै दिनदेखि टोकन माग्न आइरहेका छौं, कहिले के भन्छन् कहिले के ।’ उनको १०×/१२ क्विन्टल धान बिक्री गर्नुपर्ने छ । 

‘तीन/चार दिनदेखि टोकनका लागि आइरहेको छु, अहिले आएर धान खरिद हुँदैन भन्यो,’ बुधबार बिहान खाद्यको कार्यालयमा पुगेका भीमदत्त नगरपालिका–२ उल्टाखामका किसान कालुराम चौधरीले भने, ‘धान कटाइदेखि चुटाइ र गहुँका लागि खेत जोताइ सबै उधारोमै छ, अहिले खाद्यले धान किन्दैन भन्छ, बजारमा खाद्यको भन्दा सात/आठ सय सस्तोमा खरिद भइरहेको छ, अब कसरी उधारो तिर्ने ?’ कालु र उनका भाइ चुरामको करिब २० क्विन्टल धान बिक्री गर्नुपर्ने छ । 

खाद्यले प्रतिक्विन्टल मोटो ३ हजार ४ सय ६३ र मध्यम ३ हजार ६ सय ८८ मा खरिद गरिरहेको छ । बजारमा व्यापारीहरूले भने प्रति क्विन्टल २ हजार ५ सय हाराहारीमा खरिद गरिरहेका छन् । बजारको भन्दा राम्रो मूल्य भएका कारण किसानहरू खाद्यमा बिक्री गर्न आकर्षित भएका हुन् । 

खाद्यले महेन्द्रनगरमा कार्तिक १६ देखि धान खरिद सुरु गरेको हो । टोकन प्रणालीबाट धान खरिद सुरु गरेको थियो । मंसिर ३ गतेसम्मका लागि कार्तिक २० अगाडि नै टोकन वितरण भइसकेको थियो । त्यसपछि आउने किसानलाई ३ गतेपछि मात्रै टोकन पाइने भन्दै फर्कारहेको थियो । 

‘आज आएर कोटा सकियो भन्ने कुरा आयो, अब हामीले व्यापारकहाँ सस्तोमै धान बेच्नुपर्ने अवस्था आयो,’ शुक्लाफाँटा नगरपालिका–३ का जीवनबहादुर भण्डारीले भने, ‘खाद्यले किसानका नाममा व्यापारीको पनि धान खरिद गरेको छ, एउटै किसानको ४०/५० क्विन्टल खरिद भएको छ ।’ उनले खाद्यले मिलेमतोमा व्यापारीको धान समेत खरिद गरेको आरोप लगाए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका कार्यालय प्रमुख महिकरण महराले व्यापारीबाट धान खरिद नभएको बताए । उनले १० क्विन्टलभन्दा बढी धान हुने किसानको हकमा वडा कार्यालयको सिफारिसका आधारमा खरिद भएको बताए । उनका अनुसार एक किसानबाट १ क्विन्टलदेखि ५० क्विन्टलसम्म खरिद गर्न सक्ने व्यवस्था रहेकाले त्यहीअनुसार खरिद गरिएको बताए । 

खाद्यले महेन्द्रनगरमा ५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो । उक्त कोटा पूरा भइसकेकाले अब कोटा बढेपछि मात्रै थप धान खरिद गर्न सकिने महरा बताउँछन् । ‘हामीले किसानको नाम टिपेर कोटा थपका लागि केन्द्रमा पठाउँछौं, त्यसपछि कोटा थपिए मात्रै खरिद गर्न सकिने हुन्छ,’ उनले भने, ‘किसानको माग सम्बोधन गर्न कम्तीमा ५ हजार क्विन्टल कोटा थप गर्न माग गरेका छौं ।’ 

महराका अनुसार हालसम्म १ सय ९० किसानको धान खरिद भएको छ । अझै ३ सय बढी किसानको नाम संकलन गरिएको छ । किसानहरू आउने क्रम पनि जारी छ । खाद्यले गत वर्ष महेन्द्रनगरमा १५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो । तर त्यतिबेला ३३ सय क्विन्टल मात्रै खरिद भएको थियो । त्यही भएर यसपटक कोटा घटाइएको कार्यालय प्रमुख महरा बताउँछन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully