एमसीसी नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन अमेरिकी डलर सहयोग 

एमसीसी नेपालले थप करिब ७ अर्ब रुपैयाँ अनुदान पाउने भएको छ

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

Additional $50 million in support for MCC Nepal Compact

What you should know

काठमाडौँ — अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित  एमसीसी नेपालले थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान पाउने भएको छ । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा अनुसार उल्लिखित अनुदान रकम थप गर्ने घोषणा गरेका हुन् ।  

यो रकमसँगै सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

यो थप स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ,’ दूतावासले भनेको छ, ‘उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्दछ ।’

यो आर्थिक सहयोगले अमेरिका र नेपालबीच रहेको स्थायी साझेदारी प्रतिबिम्बित गर्ने अमेरिकी सरकारको दाबी छ । दशकौंसम्म हाम्रा देशहरूले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा र पारस्परिक समृद्धिलाई अघि बढाउन सँगै काम गरेका छन् । एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको दुतावासले जनाएको  ।

कान्तिपुर

Link copied successfully