महिला सशक्तीकरण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको १५ दिने आवासीय तालिममा देशभरबाट छनोट भएका २८ महिलाको सहभागिता रहेको छ ।
काठमाडौँ — नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को सहकार्यमा सोलुखुम्बुको गाउँपालिका–७, गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड तालिम सुरु भएको छ ।
महिला सशक्तीकरण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको १५ दिने आवासीय तालिममा देशभरबाट छनोट भएका २८ महिलाको सहभागिता रहेको छ ।
नेपाल माउन्टेन एकेडेमीमार्फत सञ्चालित तालिममा सहभागीलाई पदमार्गसम्बन्धी प्राविधिक सीप, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेसागत सेवा–प्रदर्शनका गुणस्तरीय अभ्यासबारे प्रशिक्षण दिइने बोर्डले जनाएको छ ।
उद्घाटन कार्यक्रममा सोलुखुम्बुका जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नं.–७ का अध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की र नम्बर व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले महिलाको पर्यटन क्षेत्रमा बढ्दो आकर्षणले हिमाली पर्यटनलाई सुरक्षित, विश्वसनीय र समावेशी बनाउन मद्दत गर्ने धारणा व्यक्त गरे ।
उनीहरूले पर्यटन बोर्डले सञ्चालन गरिरहेका क्षमता विकास कार्यक्रमहरूले स्थानीयदेखि राष्ट्रिय तहसम्म दिगो पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण आधार तयार गर्दै आएको उल्लेख गरे ।
बोर्डका अनुसार ट्रेकिङ क्षेत्रमा महिलाको बढ्दो सहभागिता समावेशी पर्यटन विकासका लागि आवश्यक छ । यस प्रकारका तालिमले महिलालाई आत्मविश्वासी, दक्ष र पेसागत रूपमा सक्षम ट्रेकिङ गाइडका रूपमा स्थापित गर्न टेवा पुर्याउने बोर्डको भनाइ छ । बोर्डले आगामी वर्षहरूमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै समुदाय–आधारित पर्यटन र महिलाको आर्थिक सशक्तीकरणका अवसरहरू बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
