सडक र सिँचाइका ४४ ठेक्का तोडिए

विभिन्न सडक डिभिजन र योजना कार्यालयले निकालेको सूचनाअनुसार २ सय २९ ठेक्का रुग्ण छन्, त्यसमध्ये अहिलेसम्म सडक डिभिजन, काठमाडौंले मात्र ठेक्का तोडेको हो ।

मंसिर २, २०८२

विमल खतिवडा

44 road and irrigation contracts terminated

What you should know

काठमाडौँ — लामो समयदेखि काममा प्रगति नभएका सडक र सिँचाइका गरेर ४४ ठेक्का तोडिएको छ । काठमाडौं सडक डिभिजनअन्तर्गत सोमबार २५ ठेक्काको सम्झौता अन्त्य गरिएको सूचना निकालिएको छ ।

यसअघि जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत १९ ठेक्का तोडिसकिएको छ । पटक–पटक समय दिँदा पनि काममा प्रगति नभएपछि ठेक्का तोडिएको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।

‘काम गर्ने मौका धेरै दियौं,’ देवकोटाले भने, ‘काममा कुनै प्रगति नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएरै तोडेका हौं ।’ उनका अनुसार सुरुमा काममा प्रगति नभएका ५७ ‘ठेक्का किन तोड्ने ?’ भन्दै गत ११ कात्तिकमा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । ‘जसमा २५ ठेक्काको सम्झौता अन्त्य भएको सूचना निकालिसकेका छौं,’ उनले भने, ‘थप ३२ वटामा प्रगति देखिएको छैन, उक्त ठेक्काबारे पनि छिट्टै निर्णय गर्छौं ।’ आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा ठेक्का सम्झौता भएका पुराना ठेक्का रहेको देवकोटाको भनाइ छ ।

निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको प्रमुख देवकोटाले बताए । कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले जनाए । कार्यालयले निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन पनि दिएको छ ।

निर्माण सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र पारी ठेक्का लिने व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभई आधारभूत रूपमा ठेक्का उल्लंघन, म्याद नरहेको, कामको फरफारक नगरेकाले सम्झौता रद्द गरिएको सूचनामा उल्लेख छ । अहिलेसम्म विभिन्न सडक डिभिजन, योजना कार्यालयहरूले निकालेको सूचनाअनुसार २ सय २९ ठेक्का रुग्ण छन् । यसमध्ये अहिलेसम्म सडक डिभिजन काठमाडौंले मात्र ठेक्का तोडेको हो ।

अन्य कार्यालयले सूचना निकालेर निर्माण व्यवसायीलाई स्पष्टीकरण सोध्ने काम भइरहेको सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले बताए । ‘सूचना निकालिएको ठेक्कामा निर्माण व्यवसायीले काम ढिलाइ हुनुबारे पेस गरेको स्पष्टीकरणबारे अध्ययन भइरहेको छ,’ उनले भने, ‘अध्ययन गरेपछि तोड्नुपर्ने भए त्यसबारे निर्णय हुन्छ ।’ उनका अनुसार सूचना निकालेपछि केही निर्माण व्यवसायीले भने काम थालेका छन् ।

धेरै पुराना ठेक्कामा भने समस्या देखिएको छ । त्यस्ता ठेक्कामा लामो समयसम्म प्रगति नभएपछि तोड्ने प्रक्रिया अघि बढाइएको सडक विभागले जनाएको छ । अन्तिम समयसम्म ठेक्का लिने कम्पनीबाटै काम सम्पन्न गराउन लाग्ने र नभए मात्र तोड्ने प्रक्रिया अघि बढाइने सडक विभागका महानिर्देशक विजय जैसीको भनाइ छ । ‘मिलेसम्म जसले ठेक्का लिएको हो, उसैबाट काम सम्पन्न गराउने गरी काम गराउने हो,’ उनले भने, ‘ठेक्का तोडेर पनि नयाँ ठेक्का गर्न समय लाग्छ, लागत बढ्छ, त्यसैले नियम, कानुनअनुसार जरिवाना गराएर भए पनि ठेक्का लिने पुरानै कम्पनीबाट काम गराउँछौं ।’

व्यवसायीलाई अवसर दिँदा पनि काम नगरे मात्र अन्तिम विकल्पका रूपमा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने उनको भनाइ छ । सडकको मात्र होइन, सिँचाइका १९ ठेक्का तोडिसकिएको छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्कासमेत तोडिइसकेको छ ।

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका दुईमध्ये एउटा ठेक्का तोडिएको हो । पटक–पटक ताकेता गर्दा पनि निर्माण प्रगति नबढेपछि ठेक्का तोडेको विभागले जनाएको छ । आयोजनाले अघिल्लो मंगलबार सूचना प्रकाशन नै गरेर ठेक्का तोडेको जनाएको छ । आयोजनाको बाँध, विद्युत्‌लगायत सिभिल संरचना, गेट, हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्कामा लामो समय बित्दा प्रगति नभएपछि ठेक्का तोडिएको विभागको भनाइ छ ।

ठेक्का पटेल—रमण जेभीले लिएको हो । ठेक्का सम्झौताको अवधि ६० प्रतिशत सकिँदा प्रगति ११ प्रतिशत मात्र छ । उक्त कम्पनीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी २०७९ माघमा ठेक्का लिएको हो । यसको ठेक्का रकम १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ । त्यस्तै महोत्तरीमा नदी नियन्त्रणसम्बन्धी १२ र बबई सिँचाइ आयोजनाअन्तर्गत ६ वटा प्याकेजको ठेक्का तोडिसकिएको विभागका महानिर्देशक मित्र बरालले बताए । यता सहरी विकास तथा भवन निर्माणअन्तर्गत ३७ र सस्पेन्सन ब्रिज डिभिजन ललितपुरअन्तर्गत ६ वटा झोलुंगे पुल निर्माणको ठेक्का रुग्ण भएको भन्दै किन ठेक्का नतोड्ने भन्दै सूचना निकालिएको छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully