राष्ट्र बैंकको नाफा साढे ८० अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

बैंकको खुद नाफामध्ये कानुनअनुसार विभिन्न कोषमा राख्नुपर्ने रकम राखेपछि बाँकी रहेको ४२ अर्ब सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

NRB's profit is 80.5 billion, government will get 42 billion in dividend

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा नेपाल राष्ट्र बैंकले करिब साढे ८० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । उक्त अवधिमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले बढेर ८० अर्ब ४८ करोड २६ लाख ५० हजार पुर्‍याएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा यस्तो खुद आय ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको थियो । गभर्नर विश्वनाथ पौडेलले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।

उल्लिखित नाफामध्येबाट राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ सरकारलाई दिने भएको छ । बैंकको खुद नाफामध्ये कानुनअनुसार विभिन्न कोषमा राख्नुपर्ने रकम राखेपछि बाँकी रहेको ४२ अर्ब सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ ।

‘सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकबाट बैंकको खुद मुनाफामध्ये विभिन्न कोषहरुमा छुट्याउनु पर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी रु.८८ अर्ब ४६ करोड ७४ लाख ८० हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२५ प्रतिशतले बढेको हो । ‘आर्थिक वर्ष २०८१/८२ को खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८.६९ प्रतिशत, अन्य सञ्चालन आम्दानीको अंश १.४१ प्रतिशत र विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.१० प्रतिशत ऋणात्मक रहेको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘सो अवधिमा खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १०.०८ प्रतिशतले बढेर ८७ अर्ब ३० करोड ९७ लाख ०८ हजार पुगेको छ ।’

त्यसैगरी, अन्य आम्दानी रु.१ अर्ब २४ करोड ६८ लाख २९ हजार भएको छ । विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी भने ८ करोड ९० लाख ५७ हजार ऋणात्मक रहेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय प्रणालीमा थुप्रिएको अधिक तरलताले राष्ट्र बैंकको नाफा घटाएको छ । वित्तीय प्रणालीमा अधिक तरलता रहँदा त्यो व्यवस्थापनका लागि राष्ट्र बैंकले पैसा खर्चिनुपर्ने भएकाले राष्ट्र बैंकको खुद नाफामा असर पर्छ । जसअनुसार गत वर्ष राष्ट्रले तरलता व्यवस्थापनका लागि करिब ९ अर्ब रुपैयाँ खर्चेको छ । चालु आर्थिक वर्षमा तरलता घटेको छैन । यस कारण यस वर्ष पनि तरलता व्यवस्थापनका लागि बैंकले गत वर्षभन्दा धेरै रकम तरलता व्यवस्थापनका लागि खर्चिनुपर्नेछ । 

कान्तिपुर

Link copied successfully