पटक–पटक काम गर्ने मौका दिँदा पनि काममा प्रगति नभएपछि ठेक्का तोडिएको सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।
What you should know
काठमाडौँ — काठमाडौं उपत्यकामा ठेक्का भएको लामो समय बित्दा पनि निर्माणमा प्रगति नभएका सडक अन्तर्गतका २५ वटा ठेक्का तोडिएको छ । सडक डिभिजन काठमाडौं अन्तर्गतका ठेक्का तोडिएको हो ।
उक्त कार्यालयले सोमबार सूचना प्रकाशित गरेर ठेक्का तोडिएको उल्लेख गरेको छ । पटक–पटक काम गर्ने मौका दिँदा पनि काममा प्रगति नभएपछि ठेक्का तोडिएको सडक डिभिजन काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।
‘५७ रुग्ण ठेक्कामध्ये २५ वटाको ठेक्का तोडियो’, उनले भने, ‘थप ३२ वटा तोड्ने प्रक्रियामा छन् ।’ उनले काम गर्ने मौका दिँदा पनि कामै नभएका र प्रगति नदेखिएका ठेक्का तोडिने बताए । तोडिएका आयोजना आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० मा सम्झौता भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि सडक विभाग मातहतका कार्यालयले रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाएका थिए ।
सडक डिभिजन कार्यालय काठमाडौंले गत कात्तिक ११ मा ‘ठेक्का किन नतोड्ने ?’ भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख देवकोटाले बताए ।
कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुल–उपर गर्ने तर्फ कारबाही अगाडि बढाइने प्रमुख देवकोटाले उल्लेख गरे । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ ।
ठेक्का तथा योजनाको पटक–पटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभई आधारभूत रूपमा ठेक्का उल्लङ्घन, ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ ।
विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।
