तीन महिनामा शोधनान्तर २ खर्ब ६४ अर्ब बचत, विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब पुग्यो

हालको विदेशी विनिमय सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १९.९ महिनाको वस्तु र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

कार्तिक ३०, २०८२

कान्तिपुर संवाददाता

Balance of payments surplus of Rs 264 billion in three months, foreign exchange reserves reach Rs 2979 billion

काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा देखिएको छ । जबकि गत आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।

मुलुकबाट बाहिरिने र मुलुकमा भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा जान्छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ८८ करोड बचतमा देखिएको छ ।

शोधनान्तर स्थिति बचतमा जाँदा विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव पर्दछ । साउन-असोज मसान्तसम्म २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब बराबर रहेकोमा तीन महिनामा ११.३ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा मुलुकको सञ्चिति असार मसान्तसम्मको तुलनामा ८.७ प्रतिशतले बढेर साउन-असोज मसान्तसम्म २१ अर्ब २१ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २४ खर्ब १४ अर्ब रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब १२ अर्ब १० करोड रुपैयाँ बराबर छ ।

हालको विदेशी विनिमय सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १९.९ महिनाको वस्तु र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully