शरद् २०२५ : तीन वर्षकै सबैभन्दा सफल पर्वतारोहण सिजन

पर्यटन विभागका अनुसार विश्वभरका ८३ देशबाट आएका पर्वतारोही, ६२ हिमालका लागि अनुमति लिने टोली संख्या १ सय ९० तथा रोयल्टी आय २६ करोड ४१ लाख आदिमा उछाल देखिएको छ।

कार्तिक ३०, २०८२

सुरज कुँवर

Autumn 2025: The most successful mountaineering season in three years

What you should know

काठमाडौँ — देशभरका जलवायुजन्य विपत्ति र जेन–जी आन्दोलनले राजनीतिक उथलपुथल भएर पर्यटन क्षेत्र प्रभावित भए पनि नेपालको पर्वतारोहण उद्योगले उल्लेखनीय वृद्धि देखाएको छ।

पर्यटन विभागले जारी गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार शरद् २०२५ को पर्वतारोहण सिजन अघिल्ला दुई वर्षको तुलनामा अगाडि देखिएको छ । 

विभागका निर्देशक हिमाल गैतमका अनुसार, विश्वभरका ८३ देशबाट आएका पर्वतारोही, ६२ हिमालका लागि अनुमति लिने टोली संख्या १ सय ९० तथा रोयल्टी आय २६ करोड ४१ लाख आदिमा उछाल देखिएको छ।

सन् २०२३, २०२४ र २०२५ को तथ्यांक तुलना गर्दा नेपालले आरोहणमा निरन्तर प्रगति गरेको पाइन्छ। 

सन् २०२३ मा ७३  देशबाट सहभागिता भए पनि २०२५ मा यो संख्या ८३ पुगेको छ। उता, अनुमति दिइने हिमालको संख्या तीन वर्षमा ५२ बाट ६२ पुगेको छ। पर्वतारोहण टोली संख्या पनि सन् २०२३ को १०७ बाट २०२५ मा १९० पुगेको देखिन्छ । जसले विश्वभर नेपालप्रति बढ्दो विश्वास झल्काएको पर्यटन व्यवसायीहरु बताउँछन । 

‘यसपालि त झन् धेरै आरोहीहरू आउने तयारीमा थिए,’ सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पा बताउँछिन्, ‘तर मनसुन–जन्य विपत्ति र जेन–जी आन्दोलनका कारण धेरै समूहले अन्तिम क्षणमा आफ्नो नेपाल यात्राको योजना रद्द गरे। त्यो परिस्थितिले हामीलाई केही समय चिन्तित पनि बनायो।’ उनका अनुसार, विपरीत परिस्थितिका बाबजुद शरद् २०२५ मा देखिएको सहभागिता अत्यन्तै उत्साहजनक रह्यो। ‘यति प्रतिकूलता बीच पनि यस वर्ष शरद् ऋतुमा जुन संख्यामा आरोही आए, त्यो आफैंमा अत्यन्त प्रेरणादायक संकेत हो,’अध्यक्ष शेर्पा थप्छिन्, ‘नेपालको पर्वतीय पर्यटनको विश्वस्तरमा कति ठूलो महत्त्व छ भन्ने कुरा पुनः प्रमाणित गरिदिएको छ।’ 

शरद् २०२५ मा ११सय ७७ पुरुष र ३ सय ६१ महिला गरी १५सय ३८ पर्वतारोहीले अनुमति लिए । जुन गत वर्षको आरोहण अनुमति संख्या १२ सय ८० भन्दा केही बढी हो। 

विश्वव्यापी आर्थिक चुनौतीका बाबजुद पनि नेपाल हिमाल चढ्नको प्रमुख गन्तव्य बनेको विभागका सरकारी अधिकारीहरूको निष्कर्ष छ।

यस वर्ष सबैभन्दा माथि उछाल आएको क्षेत्र भने सरकारको रोयल्टी आम्दानी हो। शरद् २०२५ मा सरकारले २६ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । शरद् २०२३ र २०२४ मा संकलित रोयल्टीको झन्डै तीन गुणा बढी हो । हिमालतर्फ मनास्लु, आमादबलम, हिम्लुङ, धौलागिरीलगायतका लोकप्रिय हिमालहरूले यस वृद्धिमा महत्त्वपूर्ण योगदान गरेका छन्।

पर्यटन क्षेत्रका विश्लेषकहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा हुने गरेको आरोहीहरुले गरेको प्रचारले महिला सहभागिता बढाउन, प्रभावकारी अन्तर्राष्ट्रिय प्रवर्द्धन गराउन मद्दत भइरहेको छ । यसै कारण नयाँ मुलुकहरूको बर्सेनि सहभागिता थपिँदै  नेपालमा पर्वतारोहणको आकर्षण झन् फैलिरहेको छ ।

यस वर्षको प्राकृतिक विपत्ति, पहिरो, बाढी तथा राजनीतिक आन्दोलनका चुनौतीहरूबीच पनि नेपालको पर्वतारोहण अर्थतन्त्र दृढ देखिएको छ। 

‘आजको दिनमा युरोपेली र अमेरिकन आरोहीहरू नेपालका हिमाल चढ्न असाध्यै लालायित छन्,’ अध्यक्ष शेर्पा भन्छिन्, ‘ ६ हजार मिटरदेखि ८ हजार मिटरका धेरै शिखरहरू उनीहरूको प्रमुख रोजाइमा परेका छन्, जसले नेपाललाई विश्वको अग्रणी हिमालयन साहसिक गन्तव्यका रूपमा अझ मजबुत बनाइरहेको छ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully