धान बेच्न किसानहरु दिनहुँ खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय पुग्ने गरे पनि मंसिर ३ गतेसम्मका लागि एक साताअघि नै टोकन वितरण गरिसककाे भन्दै फर्काइने गरेकाे छ ।
What you should know
कञ्चनपुर — भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका देवीलाल कोइराला धान बिक्री गर्न टोकन लिन तीन पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीको महेन्द्रनगरस्थित कार्यालयमा पुगे । तर उनले अझै टोकन पाएका छैनन् ।
‘मंसिर ३ गतेसम्मका लागि टोकन वितरण भइसक्यो अब त्यसपछि मात्रै बाँडिने भन्छन्,’ कोइरालाले भने, ‘खाद्यमा धान बिक्री गर्न घरमै राखेको छु, अब खाद्यले नकिने व्यापारीलाई सस्तोमै बेच्नुपर्ने भयो ।’ उनी विगतका वर्ष फनि खाद्यमै धान बिक्री गर्दै आएका थिए ।
कोइरालाजस्तै धान बेच्नका लागि टोकन माग्दै किसानहरु दिनहुँ कम्पनीको कार्यालयमा पुगिरहेका छन् । तर खाद्यले मंसिर ३ गतेसम्मका लागि एक साताअघि नै टोकन वितरण गरिसकेको छ । ‘यसपाली कोटा कम छ, त्यही भएर सहजै टोकन पाउन सकेका छैनौं,’ महेन्द्रनगरकै अर्का किसान ईश्वर उपाध्यायले भने, ‘खाद्यमा बिक्री गर्ने भनेर धान घरभित्रै राखेको छु, अहिले टोकन नै पाइदैन ।’ उनले पनि करिब २० क्विण्टल धान बिक्री गर्नुपर्ने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महेन्द्रनगरमा ५ हजार क्विण्टल मात्रै धान खरिदको कोटा पाएको छ । कात्तिक १६ देखि खरिद सुरु गरेको खाद्यले शुक्रबारसम्म ३३ सय क्विण्टल खरिद गरिसकेको छ । ‘अब कोटा बढेमा मात्रै बढी धान खरिद गर्न सकिन्छ, नत्र अहिले वितरण भएकै टोकनबाट कोटा पूरा हुने देखिन्छ,’ कम्पनीको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी सहायक चौथो पदमा कार्यरत मनोज चन्दले भने, ‘खरिद सुरु भएकै दिनदेखि टोकन वितरण गरिएको हो, अहिले धेरै वितरण भएकाले रोकिएको छ ।’
उनले दैनिक ३ सय क्विण्टल हाराहारी धान खरिद भइरहेको बताए । उनका अनुसार अहिले किसानहरु कार्यालयमै पुगेर र फोनबाट समेत टोकनका लागि सोधीखोजी गरिरहेका छन् ।
खाद्यले बजारको तुलनामा राम्रो मूल्य दिइरहेकाले किसानहरु यहाँ धान बिक्री गर्न आकर्षित भएका हुन् । अहिले बजारमा व्यापारीले प्रतिक्विण्टल २४/२५ सय रुपैयाँमा खरिद गरिरहेका छन् । खाद्यले प्रतिक्विण्टल मोटो ३ हजार ४ सय ६३ र मध्यम ३ हजार ६ सय ८८ मा खरिद गरिरहेको छ ।
गत वर्ष खाद्यले महेन्द्रनगरमा १५ हजार क्विण्टल धान खरिदको कोटा पाएको थियो । तर त्यतिबेला ३ हजार ३ सय क्विण्टल मात्रै खरिद भएकाकाले यसपटक कोटा घटाइएको हो ।
खाद्यले यसपटक जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा पनि संकलन केन्द्र राखेको छ । बिहीबारबाट उक्त क्षेत्रमा धान खरिद सुरु गरिएको हो । पुनर्वासमा २ हजार किवण्टल धान खरिदको कोटा प्राप्त भएको छ ।
