ताराताल भन्सार बन्द भए बर्दियामा गुलरियामा मात्रै छोटी भन्सार सञ्चालन हुनेछ ।
What you should know
बर्दिया — एक दशक अघिदेखि पुनः सञ्चालनमा आएको बर्दियास्थित छोटी भन्सार कार्यालय ताराताल बन्द हुने भएको छ । मासिक झन्डै २० हजार राजस्व संकलन हुँदै आएको छोटी भन्सार बन्द हुने मूल भन्सार कार्यालय, राजापुरले जनाएको छ ।
सरकारले मुलुकका १ सय ३३ वटा छोटी भन्सारमध्ये १८ वटा मात्रै रहने गरी सबै स्थगन गर्ने तयारीमा लागेको भन्सार कार्यालय,राजापुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रमोदकुमार महतोले विभागको निर्देशन अनुसार छोटी भन्सार ताराताल बन्द हुने सूचीमा परेको बताए । बर्दियामा ताराताल भन्सार बन्द भए गुलरियामा मात्रै छोटी भन्सार सञ्चालन हुनेछ ।
सशस्त्र द्वन्द्वकालअघि बर्दियामा नौ वटा छोटी भन्सार र एक मूल भन्सार कार्यालय रहेकामा हाल गुलरिया, ताराताल छोटी र राजापुर मूल भन्सार सञ्चालनमा रहेको छ । यसबाहेक मूल भन्सार कार्यालय राजापुर सञ्चालनमा छ । दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालित छ ।
सशस्त्र द्वन्द्वअघि पडेरिया,गणेशपुर, कालाबन्जर,खैरापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज छोटी भन्सार कार्यालय सञ्चालनमा थियो । त्यसबेला आफ्नै स्वामित्वको जग्गामा कार्यालय सञ्चालन हुँदै आएको थियो । बन्द भएका छोटी भन्सारको स्वामित्वमा रहेको जग्गा कती र कहाँ छन्, भन्सारका कर्मचारी अनभिज्ञ छन् । भन्सारको स्वामित्वको जग्गाको जग्गाधनी पुर्जासमेत कार्यालयमा भेटिँदैन ।
ताराताल भन्सार बन्द हुनासाथ यस क्षेत्रमा भारतबाट भन्सार छलेर सामान ल्याउने चोरी तस्कर बढ्ने कर्मचारी बताउँछन् । ताराताल छोटी भन्सार नासुको दरबन्दी भए पनि दुई कार्यालय सहयोगीको भरमा छ । दरबन्दीअनुसार कर्मचारी नभएका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन । पक्की भवन भएको यस कार्यालय बन्द भए भूमिहीनका नाममा अतिक्रमणको निसानामा पर्ने जोखिम रहेको भन्सारका कर्मचारी बताउँछन् । जनशक्ति अनुसार कर्मचारी खटिए वार्षिक झन्डै ५० लाख राजस्व असुल हुने कर्मचारीको दाबी छ ।
भन्सार कार्यालय बर्दियामा २२ जना कर्मचारीको दरबन्दी छ । हाल भन्सार अधिकृत १ भए पनि सरुवा भएपछि रिक्त छ । नासु ६ जना मध्ये ४ ,लेखापाल १, कम्प्युटर अपरेटर १, चालक १ र कार्यालय सहयोगी ६ जना रहेका छन् । गत आर्थिक वर्षमा २ करोड १४ लाख १४ हजार राजस्व असुली लक्ष्य रहेकामा २ करोड ३१ लाख ८२ हजार संकलन भएको थियो । चालु आवमा ३ करोड १ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा कात्तिक २७ गतेसम्म ६१ लाख ४६ हजार असुली भएको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
क्याप्सन–कार्यालय सहयोगीको भरमा रहेको ताराताल छोटी भंसार कार्यालय ।
क्याप्सन–बर्दियाको एक मात्र नाका राजापुरमा रहेको मुल भंसार कार्यालय ।
तस्विर–कमल पन्थी/कान्तिपुर
