संघले आयात गरिएका सामग्री समयमै नभित्रिएका कारण नेपाली बजारमा चिनियाँ सामान अभाव र नेपाली व्यवसायीहरू समेत मारमा परेको बताएको छ ।
What you should know
बेइजिङ — चाडपर्व तथा हिउँदे यामका लागि चीनबाट आयात गरिएका मालवस्तुमा भएको ढिलासुस्तीलाई चुस्त बनाउने पहलकदमीका लागि नेपाल हिमालय सिमापार वाणिज्य संघले ध्यानाकर्षण गराएको छ ।
शुक्रबार बेइजिङस्थित नेपाली दूतावाससमक्ष ज्ञापनपत्र बुझाउँदै संघले आयात गरिएका सामग्री समयमै नभित्रिएका कारण नेपाली बजारमा चिनियाँ सामान अभाव र नेपाली व्यवसायीहरू समेत मारमा परेको बताएको छ ।
संघको पत्र लिएर छिमेकी हपेइ प्रान्तबाट दुई जना नेपाली व्यवसायी शुक्रबार बिहान बेइजिङस्थित राजदूतावास पुगेका थिए । हिमालय सिमापार वाणिज्य संघका चीनस्थित प्रतिनिधि सुरेश कोइराला र एनआरएनए चीनका प्रतिनिधि रमेश तिमल्सिनाले कार्यवाहक राजदूत रोशन खनालसमक्ष संघको पत्र बुझाएका हुन् । खनालले यो समस्याका बारेमा नेपाल सरकार जानकार रहेको भन्दै सहजीकरणका लागि पहल गर्दै आएको बताइन् ।
गत असार २४ को बाढीले नेपाल-चीन केरुङस्थित मितेरी पुल बगाएपछि उक्त नाकाबाट आयात-निर्यात पूर्णतः ठप्प छ । दसैं-तिहारका लागि नेपाली व्यवसायीले आयात गरिएका सामानहरू केरुङमै रोकिएका थिए भने कतिपय कन्टेनर तातोपानी नाकातर्फ ‘डाइभर्ट’ भएका छन् ।
केरूङ नाका बन्द हुनुअघिसम्म तातोपानी नाकाबाट दैनिक १ सय देखि १ सय ५० कन्टेनर आवतजावत हुने गरेकोमा अहिले १०-१२ वटामा सीमित भएको छ । यसो हुँदा चिनियाँ नाकामा कन्टेनरहरू थुप्रिएका छन् भने क्रमशः सामानको गुणस्तर पनि खस्किने संभावना हुन्छ ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार केही दिन अगाडि मात्रै सिचाङ वैदेशिक मामिलासमक्ष सहजीकरणका लागि अनुरोध गरिएबमोजिम त्यसको परिणाम देखिन थालेको छ । जाँचपासलाई तीव्र बनाइएकोले दैनिक २० देखि २५ वटा कन्टेनरसम्म नेपाल जान थालेको निरौलाले बताए ।
कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, ‘यसअघि दैनिक १०/१२ वटा कन्टेनर नेपाल जाने गरेकोमा अहिले दोब्बर भएको छ ।’
यसैबीच तातोपानी नाकालाई चुस्त-दुरुस्त बनाउनेबारेमा छलफल गर्न सिचाङले तदारुकता देखाएको छ । शनिबार नेपाली र चिनियाँ अध्यागमन अधिकारीहरूबीच तातोपानी नाकामा छलफलको तयारी गरिएको छ । बेइजिङ समयअनुसार बिहान साडे १० बजेपछि यो छलफल हुने जनाइएको छ ।
नेपाली व्यवसायीहरूले तातोपानी नाकामा रहेका कन्टेनरहरू दैनिक कम्तीमा ५० वटासम्म छाडिदिने पहल गरिदिन दूतावाससमक्ष अनुरोध गरेको हो । कोभिडपछिको अवस्थामा नेपाली व्यवसायले विस्तारै लय समात्दै गर्दा पछिल्लो समय पुनः अवरोधको अवस्था आएपछि नेपाली साना व्यवसायीहरू चिन्तित भएको भन्दै हपेइ प्रान्त आधारित व्यवसायी कोइरालाले हारगुहार गर्ने सिलसिलामा नेपाली दूतावाससमक्ष पुगेको सुनाए । कोइरालाले भने, ‘नेपाल-चीन सीमानाकामा देखिएको गतिरोध सरल र सहज रुपमा अन्त्य गरी पूर्ववत् आयात-निर्यातको वातावरण बनाउने उद्देश्यले अनुरोध गरिएको हो ।’
सिमापार वाणिज्य संघद्वारा बुझाइएको पत्रमा केरुङमा मितेरी पुलको अस्थायी संरचना सक्दो छिटो निर्माण गर्न र पूर्ववत् आयातको वातावरण मिलाउन अनुरोध गरिएको छ भने नेपाल र चीनबीच व्यापार असन्तुलन हरेक वर्ष बढ्दै गएकाले चीनले दिएको भन्सार सुविधाको प्रयोग गर्नेतर्फ अग्रसर हुन आग्रह गरिएको छ ।
भन्सार सुविधाको फाइदा लिन तातोपानी नाकामा चिनियाँ प्रयोगशालाको युनिट राखेर नेपाली वस्तुको परीक्षणलाई सहज बनाइदिनका लागि पनि व्यवसायीहरूले ध्यानाकर्षण गराएका छन् ।
