भारत सरकारले नेपालसँग प्रसारण लाइनको सञ्जाल विस्तार गर्न चासो देखाउनु भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेत भएको इपानका अध्यक्ष कार्कीले बताए ।
What you should know
काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयास सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् ।
भारत सरकारले नेपालसँग प्रसारण सञ्जाल विस्तार गर्न चासो देखाउनु भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेत भएको उनले बताए । उनका अनुसार भारत दीर्घकालीन रूपमा आफूलाई आवश्यक बिजुली व्यवस्थापन गर्न लागेको छ । यसै सन्दर्भमा नेपालले पनि बिजुली उत्पादनमा अब अलमल गर्न नहुने बताएका छन् । उनका अनुसार भारतलाई नेपालको बिजुली चाहिन्छ भन्ने बुझाइ बनेको छ ।
५–१० वर्षपछि कुनै दिन बिजुली आवश्यक पर्न सक्ने र त्यो नेपालबाटै ल्याउनुपर्ने अवस्था भारतले देखेको छ । नत्र भने यति ठूलो लगानी गरेर ट्रान्समिसन लाइन बनाउनुपर्ने कारण हुँदैन । कार्कीले भने, ‘नेपाल सरकारले भारत सरकारसँग ट्रान्समिसन लाइन बनाउने कुरा आयो । मलाई के लाग्छ भने भारत सरकारले कहींकहीं नेपालको बिजुली चाहिन्छ भनेर किन्न तयार हुन खोजेको देखियो । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ, र त्यो नेपालबाटै आयात गर्नुपर्छ भन्ने भारतलाई परेको छ । होइन भने यति धेरै ट्रान्समिसन लाइनका लागि खर्च गर्नु आवश्यक थिएन । त्यसले गर्दा भारत तयार हुँदैछ । तर हाम्रो पक्षमा पनि नेपाली बिजुली उत्पादनका लागि तयार छौं छैनौँ, त्यसले अर्थ राख्छ । त्यस तयारीका लागि हामीले पनि सोही अनुसारको तयारी गरेर बिजुली उत्पादन सुरु गर्नुपर्ने हो ।’
कार्कीले एमसीसी परियोजनाको प्रसारण लाइन र अन्य प्रसारण लाइन निर्माणको चरणमा रहेको बताएका छन् । यी सञ्जालहरू बनेपछि अझ बढी बिजुलीको माग बढ्नेछ ।
उनका अनुसार अब सरकारले जलविद्युत् क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ, होइन भने उर्जा उत्पादकलाई भारत र बंगलादेशलाई बिजुली चाहिएको खण्डमा उनीहरूले आफैं लगानी गरेर लैजाने अनुमति दिनुपर्ने हुन्छ ।
