सिंहदरबारमा बिहीबार आयोजित बैठकमा प्रधानमन्त्री कार्कीले निगमको इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्ने प्रवृत्तिमाथि असन्तुष्टि जनाउँदै त्यसलाई ‘असह्य बेथिति’ भन्दै तत्काल समाधान गर्न निर्देशन दिएको बैठकका एक सहभागीले बताए ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा थन्किएको एयरबस ए–३२० विमानको इन्जिन तत्काल ल्याएर सञ्चालनमा ल्याउन नेपाल वायुसेवा निगमका अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।
सिंहदरबारमा बिहीबार आयोजित बैठकमा प्रधानमन्त्री कार्कीले निगमको इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्ने प्रवृत्तिमाथि असन्तुष्टि जनाउँदै त्यसलाई ‘असह्य बेथिति’ भन्दै तत्काल समाधान गर्न निर्देशन दिएको बैठकका एक सहभागीले बताए । ‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ, यता भाडा बढेको बढ्यै छ, यस्तो पनि हुन्छ ?,’ प्रधानमन्त्री कार्कीले प्रश्न गरिन् ।
‘सञ्चालक समितिले होस् वा व्यवस्थापन तहबाट होस्, जसरी पनि अब परिणाम देखाउनुपर्छ । जनताको पैसाले चल्ने संस्थालाई ग्राउन्डेड हुने अवस्थामा पुर्याउन मिल्दैन,’ कार्कीले भनिन् । प्रधानमन्त्रीले देश, जनता र संस्थाको हितमा निर्णय गर्दा डराउन नपर्ने भन्दै निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलाई असल काम गर्दा मुद्दाको डरले पछि नहट्न पनि निर्देशन दिइन् ।
बैठकमा कालाखेतीले निमित्तलाई ६० करोडभन्दा बढी रकम भुक्तानीको अधिकार नभएकाले निर्णय गर्न कानुनी कठिनाई भएको बताएका थिए । निमित्त महाप्रबन्धकको गुनासोपछि प्रधानमन्त्री कार्कीले संचालक समिति अध्यक्ष राईलाई शुक्रबार बोर्डको बैठक गरी कालाखेतीलाई बिल भुक्तानीमा लगाइएको सीमा हटाउन निर्देशन दिएकी छन् ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन सचिव हरिप्रसाद मैनाली, निगम अध्यक्ष विक्रम राई र निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायत उपस्थित थिए ।
इजरायली कम्पनीले निगमले रकम भुक्तानी नगरेको जनाउँदै लिज सम्झौता रद्द गरिसकेको छ । उसको निर्णयले निगमले ‘लुम्बिनी’ न्यारोबडी विमान आइतबारपछि उडाउन पाउने छैन । त्यसमा इजरायली कम्पनीको भाडाको इन्जिन छ ।
निगमले इजरायली कम्पनी ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’सँग गरेको लिज सम्झौताअनुसारको भुक्तानी नगरेपछि कम्पनीले इन्जिन लिज सम्झौता रद्द गरेको छ । निगमले ४१ करोड ७१ लाख रुपैयाँबराबरको बक्यौता नतिरेकाले इजरायली पक्षले सम्झौता रद्द गरेको हो ।
निगमले माघ २०८० देखि ‘लुम्बिनी’ विमानमा भाडाको इन्जिन राखेर उडान भर्दै आएको थियो । उक्त इन्जिनको दैनिक भाडा २४ सय अमेरिकी डलर (करिब ३ लाख ३८ हजार रुपैयाँ) पर्छ । जहाज उडेको घण्टा र उडान चक्रअनुसार थप शुल्क पनि जोडिँदै जाने व्यवस्था छ ।
सम्झौताअनुसार यो इन्जिन ३ महिनाका लागि मात्र भाडामा लिइएको थियो । तर अहिले २२ महिना बितिसक्दा पनि निगमले न त भाडा तिर्यो, न त आफ्नै मर्मत भइसकेको इन्जिन इजरायलबाट फिर्ता ल्याउन सक्यो । त्यसैले बिहीबार प्रधानमन्त्रीले निगमका पदाधिकारीलाई बोलाएर इन्जिनलगायतका इजरायली कम्पनीले पाउनुपर्ने भुक्तानी अविलम्ब तिर्न र निगमको मर्मत भइसकेको इन्जिन नेपाल ल्याउन निर्देशन दिएकी हुन् ।
उक्त इन्जिन तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले इजरायल मर्मतका लागि पठाएका थिए । यसबीचमा पर्यटन मन्त्रालयमा तीन मन्त्री-सुदन किराती, हितबहादुर तामाङ र बद्री पाण्डे र तीनवटा सरकार पनि फेरिएका छन् ।
