खोटाङमा किवी उत्पादन घट्यो, बजारको पनि समस्या

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का शुभचन्द्र राईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा शिरानमा ३० रोपनी जग्गामा आफूले सञ्चालन गरेको शुभ कृषि फर्ममा गत वर्ष १० हजार केजी किवी उत्पादन भएकोमा अहिले करिब ८ हजार केजी मात्र उत्पादन भएको बताए ।

कार्तिक २७, २०८२

डम्बरसिं राई

Kiwi production declines in Khotang, market also faces problems

What you should know

खोटाङ — जिल्लामा यो वर्ष किवीको उत्पादन घटेको छ । मौसमका कारण गत वर्षको तुलनामा करिब ३० प्रतिशत उत्पादन घटेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का शुभचन्द्र राईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा शिरानमा ३० रोपनी जग्गामा आफूले सञ्चालन गरेको शुभ कृषि फर्ममा गत वर्ष १० हजार केजी किवी उत्पादन भएकोमा अहिले करिब ८ हजार केजी मात्र उत्पादन भएको बताएका छन् । किवी टिपेर भण्डारण गरेर राखेको र मागको आधारमा बिक्री गर्दै लैजाने राईले सुनाए  ।

किवी काठमाडौं, विराटनगर, धरानलगायतसम्म पठाउने गरेको राईले बताए । प्रतिकिलो एक सय ५० देखि दुई सय रूपैयाँसम्ममा किवी बिक्री हुने गरेको राईले जनाए । गत वर्ष सोही क्षेत्रफलमा लगाएको खेतीबाट १५ लाख आम्दानी भएकोमा यो वर्ष १० लाख जति मात्र आम्दानी हुने राईले बताएका छन् । ‘गत वर्ष १० हजार केजी किवी उत्पादन भएको थियो, यो वर्ष करिब ८ हजार केजी मात्र उत्पादन भयो,’ राईले भने, ‘गत वर्ष १५–१६ लाख जति भएको थियो, यो वर्ष १० लाख मात्र हुन्छ ।’ राईले २०७१ देखि किवी खेती सुरु गरेको सुनाएका छन् । 

किवीबाट जुस, वाइन, जाम, क्यान्डी, ब्रान्डी, आइक्रिम लगायतका परिकार उत्पादन गर्ने गरेको राईले जनाएका छन् । ती परिकार बनाउन तालिम लिएका राईले अन्यलाई सिकाउने गरेको बताए । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढेका दोर्ची शेर्पाले यो वर्ष आधाजति नै किवी उत्पादन घटेको बताएका छन् । त्यस्तै मुढेकै एन्टी शेर्पाले पनि यो वर्ष किवीको उत्पादन घटेको बताए । किवी बजार पनि अभाव भएकाले समस्या भएको उनको भनाइ छ । उनले यो वर्ष काठमाडौं कालिमाटी पठाउने तयारी गरिरहेको सुनाएका छन् ।

Kiwi production declines in Khotang, market also faces problems

कालिमाटीमा प्रतिकेजी एक सय ५० रूपैयाँका दरले दिने तयारी गरेको शेर्पाले जनाएका छन् । ‘यो वर्ष किवी उत्पादन पनि घट्यो, बजार पनि छैन,’ उनले भने, ‘यो वर्ष चाहिँ कालिमाटीसँग कुरा भइरहेको छ, उतै पठाउने तयार गर्दैछु ।’

दोर्ची शेर्पाले भने हलेसी, सिरहा, हेटौंडामा पठाउने बताएका छन् । उनले गाउँमै प्रतिकेजी दुई सय रूपैयाँले बिक्री भइरहेको सुनाएका छन् । जिल्ला बाहिरबाट प्रतिकेजी एक सय ५० रूपैयाँले मागिरहेको शेर्पाको भनाइ छ । गाउँ र हलेसीमा बिक्री नहुने अवस्था भयो भने मात्र बाहिर पठाइने उनले सुनाएका छन् ।

अन्य पालिकाहरूमा पनि किवीको उत्पादन घटेको किसानहरूले जनाएका छन् । खोटेहाङ गाउँपालिका अध्यक्षसमेत रहेका किवी किसान उदीमबहादुर राईका अनुसार उक्त गाउँपालिकामा पनि किवीको उत्पादन घटेको छ । उनका अनुसार उक्त गाउँपालिकामा करिब १२ मेट्रिकटन किवी उत्पादन भएको छ । पालिकाको चिप्रिङ धालाचुङ, सावाकटहरे नागीलगायतका विभिन्न ठाउँमा हेवार्ड ग्रीन, हेवार्ड रेड लगायतका किवी उत्पादन भएको राईले सुनाएका छन् । उनका अनुसार गाउँमै ८०, ९० र १०० रूपैयाँले बिक्री भइरहेको छ । ‘अहिले त गाउँमै ८०, ९०, १०० ले बिक्री भइरहेको छ,’ राईले भने ।

जन्तेढुंगा, दिप्रुङ चुइचुम्मा, साकेला, केपिलासगढी, ऐँसेलुखर्क गाउँपालिकामा पनि किवीको उत्पादन घटेको छ । तर कति प्रतिशतले घट्यो भन्ने एकीन विवरण आइनसकेको कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानले बताएका छन् । आर्थिक वर्ष २०८१/८२ सम्ममा खोटाङमा ७३ हेक्टर क्षेत्रफलमा किवी लगाइएको हो । गत वर्ष खोटाङमा पाँच सय मेट्रिकटन उत्पादन भएको चौहानले बताएका छन् । ‘यो वर्षको विवरण आइसकेको छैन,' चौहानले भने ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully