विद्युत् प्राधिकरणको बक्यौता महसुलको पहिलो किस्ता बुझाएपछि प्राधिकरण सिमरा वितरण केन्द्रले उक्त उद्योगको लाइन बुधबार साँझ जडान गरेको थियो ।
पर्सा — जगदम्बा स्टिल उद्योग बिहीबार बिहान ६ बजेदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । विद्युत् प्राधिकरणको बक्यौता रहेको महसुलको पहिलो किस्ता उद्योगले बुझाएपछि प्राधिकरण सिमरा वितरण केन्द्रले उक्त उद्योगको लाइन बुधबार साँझ जडान गरेको थियो ।
उद्योगमा करिब दुई हजार कर्मचारी तथा मजदुर कार्यरत छन् । प्राधिकरण सिमरा वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीका अनुसार, जगदम्बाको कुल बक्यौता १ अर्ब ६० करोड रुपैयाँमध्ये पहिलो किस्ता ५ करोड ७२ लाख रुपैयाँ बुझाएपछि लाइन जडान गरिएको हो ।
लाइन काटिएपछि यो उद्योगको आठ वटा भट्टी बन्द भएको थियो । उत्पादनमा करिब ७५ प्रतिशतले ह्रास आएको थियो । उद्योगले मजदुरलाई भने काममा खटाइरहेको थियो । सञ्चालनमा रहेको अन्य प्लान्टको सरसफाइ लगायतका काममा मजदुर खटिएका थिए ।
यहाँस्थित हिमाल स्टिल प्रालिले नेपाल विद्युत प्राधिकरणको बक्यौता रहेको रकममध्ये पहिलो किस्ता बुझाएपछि प्राधिकरणले उद्योग परिसरको लाइन आइतबार साँझ जडान गरेको थियो । उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले उद्योग भने तत्कालै सञ्चालनमा नआउने बताए । उद्योगका केही आन्तरिक तयारी गर्न बाँकी रहेकाले उद्योग सञ्चालनमा आउन केही दिन लाग्ने उनको भनाइ छ । उद्योगमा करिब चार सय मजदुर कार्यरत रहेका छन् ।
लाइन काटिएको अर्को उद्योग त्रिवेणी स्पिनिङको कुल बक्यौता ३२ करोड ९ लाख ८६ हजार ७ सय ९३ रुपैयाँ ६९ पैसामध्ये पहिलो किस्ता १ करोड १४ लाख ६३ हजार ८ सय १४ रुपैयाँ ६ पैसा बुझाएपछि उसको पनि लाइन बुधबार दिउँसो जडान गरिएको थियो ।
